"आज ठ्याक्कै २० बर्स पुग्यो !" बिहान नुहाएर पूजाकोठामा आइपुगेकी सरलाले भित्ते पात्रोमा हेरेर मनमनै भनिन् । यसै पूजाकोठामा सासूले उनलाई भित्र्याएकी थिइन् । पाथीचुल्ठो गरेको, मुख हेरेको, ढोगभेट गरेको, छेउछाउबाट दाइजो र ढोगौली यस्तो र उस्तो भनी कानेखुसी गरी कुरा काटेको, बाजाको तालसँगै छिटोछिटो धड्किएको मुटु सबै उनलाई अहिलेनै भैरहे जस्तो लाग्यो ।
मागिबिहे भएता पनि परिवारको सहमतिमा एक दुइपटक हुनेवाला श्रीमानसँग भेटेपछि सरलाको बिहेको टुङ्गो लागेको थियो । पहिलो पटक ठमेलको रेस्टुरेन्टमा आफूलाई मनपर्ने चिकेन सिजलर र दोस्रो पटक बानेश्वरको बेकरी क्याफेमा चिकेन मःमः नै होला सरलाले आफूले रोजेर श्रीमानसँगै बसी खुशीसाथ खान पाएको । मोटरसाइकल लिएर उनका हुनेवाला श्रीमान् माइती घरको गेटैमा लिन आएका थिए । हावामा सलल उड्दै काठमाडौँको धुलौटो बाटोमा घुमेका ती अविस्मरणीय पल! उनलाई लागेको थियो, आहा कस्तो कुरा मिलेको हाम्रो! खानादेखि लिएर सबै! मैले आफै खोज्दा पनि यो भन्दा राम्रो त पाउने थिइन होला!
आफै बजाएको घण्टीले उनको एकाग्रता भङ्ग भयो । अहिले सबै कुनै परीकथाको घटनाजस्तै लाग्छ । बाध्यता नपरी घरबाट निस्कन मन नपर्ने र बाहिरको खाना खाएमा एक हप्तासम्म शारीरिक नभएपनि मानसिक बिरामी हुने खसमको बानी बिहेको एक सातामै सरलाले थाहा पाएकी थिइन् ।
सरला, यथानाम तथा गुणाः, स्वभावैले सरल थिइन् । सकेसम्म परिवारलाई खुशी राख्न आफ्ना हर इच्छाको बलिदान गरेको पनि आज बीस वर्ष पुगेको दिन! बिहानको खाना बनाउन हतार हुन्छ । बेलुका छिट्टै आएर रमाइलो गर्ने मनमनै योजना गरिन् सरलाले ।
"आज एनिवर्सरी हो रातै लागाम न त!" सरलाले दराज खोलेर लुगा हेरिन् । भर्खर सेलमा किनेको रातो कुर्ती र नीलो जीन्स लगाएर ऐना हेरिन् । "राम्रै देखियो ! आज सिन्दूर पनि लाउनुपर्यो ।" टाउकामा सानो सिन्दूरको धर्सो कोरेर सरलाले सानो रातो टीका पनि ट्याप्प टाँसिहालिन् । आज आफैलाई रमाइलो लागेर होला "मै राम्री भा'छु रे" भन्ने गीत गुनगुनाउँदै सरलाको तयारी सकियो। अन्तिम पटक ऐनामा आफूलाई अघाइन्जेल नियालेपछि ब्याग लिएर बाहिर निस्कन लाग्दा सासूले देख्नुभयो ।
"सरला! के अचम्म भयो! आज त सिन्दूर टीका लगाएर रातै भइछौ! सँधै यस्तै लाएर जानू नि! कति राम्रो देखिन्छ !"
"भाउज्यू ल चुरा पनि लाइहाल्नु!" माइत सुत्केरी बस्न आएकी नन्दले हत्तनपत्त आएर आफ्नो हातको काँचको चुरा फुकाएर लाइदिन् ।
"आमा पनि! आज भाउज्यूको एनिवर्सरी होइन ?"
"ए! के थाहा त मलाई! भन्नु पर्दैन त?" सासू मास्तिर लागिन् । भित्र नानी रोयो । नन्द फकाउन कोठातिर दगुरिन् । सरला एकछिन् त्यहीं अलमल्ल परिन्! गेटमा अफिसको गाडीले प्याँआँआँआँ हर्न बजाएपछि उनी पनि कुदेर तलतिर झरिन् ।
गाडीको पछाडिको सीटमा बसेपछि सरलाको मोबाइल हेर्ने नियमित रूटिन हुन्छ । "अलिकति डाटा जान्छ के भो त!" पुरुष सहकर्मीहरूसँग बिनाकाममा तिनका बकम्फुसे गफ सुन्नुभन्दा उनलाई यही रमाइलो लाग्छ ।
फेसबुकमा साथीले बिहेको फोटो राखेर हैप्पी एनिवर्सरी लेखिछ, १५१ वटा त कमेन्ट नै रहेछन् । सबैलाई लाइक गरेर एकमुष्ठ धन्यवाद दिन नपाउँदै अफिस पुगिहालियो।
बेलुका सरलाले आएर रातो धोती फेरिन् । मन लगाएर खाना बनाइन् । पतिदेवलाई त ध्यानै छैन आज एनिवर्सरी भन्ने । पहिले त हरेक वर्ष उपहार ल्याउने गर्थिन् सरला! तर रोटी पनि दोहोरो मात्र नै पाक्दो रहेछ! हिजोआज केही वर्षदेखि पतिले जस्तै उनले पनि उपहारको झंझट गर्न छोडेकी छिन् । किन उपहार किनीकिनी कसैको चित्त दुखाउनु!
खाना पाक्यो! घिउ नराखेरै अलिकति हरियो मटर, गाजर, काजू र किसमिस राखेर राइसकुकरमा पुलाउ बनाइन् । हिजोआज सबै कम चिल्लो भन्छ्न् । खसीको मासुको कबाब, पहेंलो दाल, आलू र सानो केराउको अचार, चमसुर पालुंगोको साग, पनीर चिल्ली, काउली आलू र टमाटरको अचार मात्र बनाउन भ्याइन् उनले ।
१७ बर्स पुगेकि छोरी साँझ ढीला आएर म खान्नँ भन्दै ढ्याम्म ढोका लगाएर सुती ।
१२ बर्सको छोरो शाकाहारी, त्यसमा पनि आलूबाहेक कुनै तरकारी खान्न । बल्ल बल्ल कर गरेर फकाउँदा फकाउँदा काउलीको आलू छानेर सागको रससंँग अलिकति खायो । सासुराले काउली र साग काँचै छ भनेर चाख्दै नचाखी प्लेट पर सारिदिनुभयो । सुत्केरी नन्दले घिउनै नहालेको पनि पुलाउ हुन्छ भनेपछि सानो कटौरामा घिउ लगेर दिइन् । सासूले मुखले केही नभने पनि छोरीको र श्रीमानको अनुहारमा हेरेर करैले खाएजस्तो गरी खानुभयो ।
श्रीमानका त कुरा गरेर साध्य नै छैन ! तरकारीमा नुन चर्कोदेखि लिएर, मासु धेरै पाकेको, टमाटरको अचारमा टिमुर धेरै भएको, दाल डढेर गन्हाएको, सागमा माटो किरकिर गरेकोदेखि लिएर हाल्दै नहालेको पुलाउमा घिउ धेरै हाली भनेर सदाझैँ उनको गनगनको लामै लिस्ट तयार थियो ।
सबैले खाइसकेपछि डेजर्ट खाने भनी उनले अफिसबाट आउँदा नै स्ट्रबेरी केक किनेर फ्रिजमा राखेकी थिइन् । डाइनिङ् टेबलमा केक र चक्कू राखिनसक्दै, टिप्पणीहरू शुरू भए:
"म त घाँटी दुखेको छ, चिल्लो केक खान्नँ"
"मेरो केक फ्रीजमा राखिदिनू म भोलि खान्छु"
"म त चकलेट केक मात्र खान्छु किन स्ट्रबेरी किनेको?"
"यो बिदेशीको केक काट्ने चलन किन गर्नुपर्यो ? बरू पशुपति गएको भए हुन्थ्यो बिहान।"
"मेरो लागि बर्सको हरेक दिन एनिवर्सरी छ, आज मात्र हो र! किन गर्नु यो नौटङ्की!"
एक-एक गरी सबै आ-आफ्नो कोठामा गए । सानो छोरा र काम गर्ने केटी कल्पना भने केक खाने आशामा अघिदेखि कुरेर बसेका थिए । आशापूर्ण चार आँखाले सरलालाई हेरीरहे । एक टनको ढुङगाभन्दा गरुङ्गो मन बोकेर सरलाले तिनलाई एक-एक टुक्रा केक काटेर दिइन् । दुवै अबोध बालकले खुशी भएर खाएको सरलाले एकछिन् हेरिरहिन् र बाँकी केक फ्रीजमा राखिदिइन् ।
भान्साको काम सकीवरी कोठामा आउँदा श्रीमान् अघिनै घुर्दै रहेछन् । ऐनाअगाडि उभिएर सरलाले रातो धोती फुकाइन् । बिहानको त्यो सुन्दर रूप ऐनामा बल गरेर खोज्दा पनि भेटिएन । पीडाको कालो बादलले उनको चम्किलो अनुहार ढपक्क ढाकेको थियो । अघिदेखि उर्लन नपाएर गुम्सिएको आँसुले अहिले आँखाको डिल भत्काएर बग्ने बाटो पायो । गहना, लुगा, चुरा, पोते सबै फुकाएर यथास्थानमा राखिन् ।आँखाबाट अविरल बगिरहेका उनका बलिन्द्र धारा आँसु थन्काउने ठाउँ भने कतै थिएन ।
Comments
Post a Comment