कवि कविता होस्, कविता कवि होस्
तब पो कविता हुन्छ ।
शब्द थुपारीकन के हुन्छ ?
भाव भए पो हुन्छ
कविता भन्ने बित्तिकै कवि पारसमणि प्रधानको कविता 'सिकारू कविप्रति'-का यी पङ्तिहरुको संझना आउँछ । के हो त कविता ? गण मिलाएर शब्द थुपार्दैमा छन्द कविता र एक पङ्तिमा एक वाक्य लेख्दैमा गद्य कविता होला र ? मलाई कविता लेख्न आउँदैन, तर कहिले काहिँ धृष्टता गरिहाल्छु, कवि हुने रहर लागेर । मलाई विद्यार्थी जीवनमा र पछि पनि कविता लेख्न रहर गर्दा कालिदासका काव्यदेखि लिएर, लेखनाथ, देवकोटा, भूपी शेरचन र माधव घिमिरेका कविताहरू पढेर कविता लेख्न सकिन्छ भनेर अग्रजहरुले सिकाउनुभयो । मैले पढेँ तर जबरजस्ती लेख्न खोजेर कविता जन्मिएनन् । कवि प्रधानले भने जस्तै शब्द मात्र थुपारिए । कविता लेखन बल गरेर, नक्कल गरेर वा देखासिकी गरेर लेख्दा नहुने रहेछ भन्ने बुझेँ । त्यसरी हामी केही न केही त अवश्य जन्माउँछौँ तर त्यो ब्रह्माजीको ऊँट हुनजाँदो रहेछ । मृग, डाँफेँ, राजहाँस वा कोइली सिर्जन त अक्कल र नक्कल होइन साधना र कला चाहिँदो रहेछ ।
साहित्यिक लेखन साधना हो, एउटा तपस्या हो, अलिकति स्वाभाविक गुण हो, अध्ययन हो, अनुभव हो र सीप पनि हो । चिन्तनकै क्रममा मैले आफै एउटा सिद्धान्त बनाएँ: "कुनै गहकिलो कुरा छोटो मीठो गरी भन्दा कविता हुन्छ । थोरैमा धेरै अटाउने, कुरौनी जस्तो । एक पाथी दूध एक मुठीमा अटाएजस्तो । थोरै शब्दमा धेरै कुरा भन्न सकिने, गहकिलो, थोरै खाँदा पनि धेरै तत्व पाइने मल्टीभिटामिन ट्याबलेटजस्तो । ट्वाक्क परेको अचार जस्तो, रसिलो मीठो! कस्तो कस्तो! कविता थोपामा सागर अटाएजस्तो, एक अञ्जुली माटोमा धरती समाएजस्तो र आँखीझ्यालको एउटा प्वालबाट संसार देखिएजस्तो!"
लेखन त्यो बेला मात्र सफल मानिन्छ रे जुन बेला पाठकले त्यसभित्र आफूलाई देख्दछ । रचनासँग यदि पाठक एकीकृत भएन भने त्यो रचना सफल मानिँदैन । हामी प्रायः देख्छौं नेपाली परिवेशमा आमा र देशको बारेमा धेरै कविता लेखिन्छन् र तिनै सफल पनि हुन्छन् । यसका पछाडि पनि हुनसक्छ यसै कारणले भूमिका खेलेको होस् । नेपाली जातिमा देशभक्ति जन्मजात कुँदिएको हुन्छ जुन अन्य सबै जातिमा हुँदैन र देश भक्तिका यति धेरै सामयिक रचना अन्य भाषामा यति पाइँदैनन् पनि होला । आमा हरेकका हुन्छन्, र आधा आकाश स्वयं आमाले पनि ढाकेका हुन्छन् । तसर्थ आमा पनि सहजै एकाकार हुनसकिने विषय हो, र हामीकहाँ धेरै कविता लेखिने विषय पनि।
अब लेखकका कुरा गरौँ । भनिन्छ साहित्य समाजको ऐना हो । समाज बुझ्न साहित्य बुझ्नुपर्ने हुन्छ । लेखक पनि समाजकै उपज हो । लेखकले स्वैर कल्पनामा आधारित भएर अर्कै लोकको कथा लेखेपनि त्यसमा पनि उसको अनुभवको लेप लागेकै हुन्छ । चाहे त्यो सामाजिक कथा होस् वा कुनै यूटोपिया होस् त्यसमा लेखकको अनुभव त अवश्य नै हुन्छ, कुनै उसले आफै भोगेको कुनै देखेर वा सुनेर महसूस गरेको । त्यसैले त लेख्ने अभ्यासको प्रथम खुड्किलो आत्मकथा लेखन हो । आत्मपरक लेखनबाट साहित्यिक गद्य रचनाको थालनी हुन्छ । धेरै लेखकहरू डायरी लेख्ने गर्छन् । त्यो लेखनको दैनन्दिन अभ्यास हो । भावनालाई अभिव्यक्त गरिने कलाको विकास हरेक दिन लेखिने डायरीले गर्छ, जुन लेखकले सार्वजनिक गर्नका लागि लेख्दैन, मात्र आफ्ना लागि लेख्छ । तिनै केही परिमार्जित रोजनाम्चा कालान्तरमा लेखकका आत्मकथा पनि बन्न जान्छन् । तर हिजोआज अरूलाई भाडामा आत्मकथा लेखाउने पनि गरिन्छ, त्यस्ता भने अपवाद हुन् ।
हरेक लेखकको धर्म हो लेखनमा आफ्नो (आत्मकथा बाहेक) वा अरू कसैको जीवनलाई हुबहू उतार्नु हुँदैन । यसले ऊ स्वयं र अन्य व्यक्तिको मानहानि हुन्छ । साथै रिस र विद्रोहको झोंकमा आएर पनि कलम चलाउनु हुँदैन, यो पनि हानिकारक हुन सक्छ । कलमले समाजका कुरीति, कुसंस्कार औँल्याउने हो तर अखबारका समाचारले जस्तो सीधा आक्रमण गर्ने होइन । माझिएको लेखाइ अलङ्कृत हुनु पर्छ । महाकवि लक्ष्मीप्रसादले पनि रिसको झोंकमा आएर राति लेखेको पागल कविताबाट बिहान रिस मत्थर भएर अरुले सम्झाएपछि व्यक्तिविशेषलाई संकेत गर्ने शब्द हटाएर परिमार्जन गरेका थिए । पूर्वाग्रह राखेर गरिएको रचनामा रचनाधर्मिता हुँदैन ।
माझिएको कलमबाट दुःखी हुँदा दुःखको मसी र खुशी हुँदा श्रृङ्गार छचल्किँदैन । रचनाबाट माझिएको लेखकको तात्कालिक अवस्था मूल्याङ्न गर्न सकिँदैन । आज यसले प्रेमका कविता लेख्यो यो प्रेममा छ भनेर कुनै साधक लेखकको मूल्याङ्कन गर्नु हुँदैन । एउटा साधित लेखकले पीडामा छटपटाएका बेला माया पिरतीका उत्कृष्ट रचना गर्न सक्छ र प्रेममा हराएका बेला विभत्स रस कथ्न सक्छ । साधित लेखक कर्कलाको पात माथिको पानीको थोपा हो, जसको रचनाधर्मितालाई उसको सांसारिक परिवेशले नछुन सक्छ । पत्नीसँग रिसाउँदा विरह गाउने र पत्नी खुशी हुँदा श्रृङ्गार गाउने साधक होइन सिकारु हो । कवि कुनै पनि समय कुनै पनि भावनामा डुब्न र रमाउन सक्छ । त्यसैले लेखन साधना हो तपस्या हो । तर लेखक पनि मनिस हो अरू जस्तै । आफ्ने दुःख पोख्न परेमा कविले आत्मपरक रचना गर्छ, माधव घिमिरेले 'गौरी' रचे जस्तै । यस्ता रचनाबाट भने लेखकको तात्कालिक अवस्थाको हामी कल्पना गर्न सक्छौँ ।
जुन रचनामा लेखक स्वच्छन्द पोखिएको छ, जुन लेख्दा उसले नौ रसमध्ये प्रसङ्ग अनुसारका रसहरूको अनुभव गरेर रोमांचित भएको छ तिनै रचनाले मात्र अरूको पनि मन छुन सक्छन् । जसरी सानो शिशुले मानिस चिन्न नसक्ने अवस्थामै पनि मायालु काख चिन्छ त्यसरी नै निश्छल रचनाले मात्र पाठकहरूको मन छुन्छ । जुन रचनाले लेखक स्वयंलाई रुवाउन सक्छ त्यसले मात्र पाठकको पनि मन छुने सामर्थ्य राख्छ अनि लेखकलाई हँसाउन सक्ने रचनाले मात्र पाठकलाई पनि खुशी तुल्याउन सक्छ । त्यसकारण म त भन्छु, कुनै पनि रचना जाँच्ने प्रथम जाँचकी-पाठक लेखक स्वयं हो ।
हालै माधव पोख्रेलले 'कविता कि श्लोक' भन्ने शीर्षकमा यस्तै आशयका विचार प्रस्तुत गर्नुभएको थियो । पारसमणि प्रधानले भने जस्तै शब्द थुपार्दा श्लोक मात्र बन्दछ भने कवि र भावना एकाकार भएमा कविता बन्दछ । कवि स्वच्छन्द छ जता पनि जान सक्छ । जोसुकैको मनमा पस्न सक्छ भने कल्पनाको आफ्नै दुनिया पनि रच्न सक्छ । अन्तमा महान् कविहरूमा हार्दिक नमन!!
Comments
Post a Comment