अभाव

अभावमा बित्यो जीवन, इच्छा भित्रै तुहाइयो ।
उदार, सहने, जाती, कर्मठी कहलाइयो ॥

राजधानी गयो यौवन, पानी-बत्ती अभावमा ।
 ढुङ्गेधारा गई बस्थ्यौँ, लाम हामी प्रभातमा ॥

कतै गाग्री, कतै भाँडा, कतै प्लास्टिक-बर्तन ।
मेरो पालो मिचिस् तैँले, भन्दै कुर्लिन्छ क्वै जन ॥

नुहाउने-धुनेवाला आई पस्थे फिँजैसँग ।
तिनको स्नान पनी हेर्नै, पर्ने हुन्थ्यो सबैसँग ॥

कुस्ती खेल्दै भरी गाग्रो, फर्किन्छु जब घरमहाँ ।
रित्तो ग्यालेन पर्खेको, देख्छु अर्को कुनामहाँ ॥

ड्रम राखेर सामुन्ने,बस्छन् एक महाशय ।
भुँडी हेरेर प्रष्टिन्छ, उनको कस्तो छ आशय ॥

तीन लीटर मात्र दिने, उर्दी उनको सुनेपछि ।
थक्क-थक्क गरी बस्ने, हुन्छन् मान्छे अघि-पछि ॥

एम. ए. को जाँच आएको, बेलुका पढ्न बस्दछु ।
झ्याप्प बत्ती निभ्छ कठै! टुकी सर्जाम खोज्दछु ॥

पैदल हिँडेर बर्खामा कीर्तीपुर पुग्यौँ सँधै ।
नाकाबन्दी र कर्फ्यूको मार खेप्यौँ मिली सबै ॥

अभाव दूर गर्न भनी, गरेँ जतन हर्दम ।
सोही पुनः-पुनः आई, किन गर्दछ गनगन ॥

मट्टीतेल र पेट्रोल, ग्यास वा बिजुली सब ।
यिनको अभाव भोगेर, म भएँ सहने नर ॥

कैले बन्ला नयाँ देश, नयाँ नेपाल नामको ।
अभाव नभई बाँच्ने, गास-बास-कपासको ॥

Comments