मलाई हरेक पटक हवाइ जहाज चढ्दा डर लाग्छ । तरपनि चढिरहेकै हुन्छु । मेरा माहिला फुपाजुले भनेको एउटा कुरा साह्रै घत लागेको थियो । "तिमी राति ओछ्यानमा सुत्न जाँदा पनि डराउँछ्यौ ? प्लेन दुर्घटनामा भन्दा त हरेक दिन ओछ्यानमा मान्छे मर्छन् ।"
"हो त!" म हाँसे मात्र । यो कुरा मेरो स्मृतिमा अमिट भयो तर डरलाई मेट्न सकेन ।
जीवन सुन्दर उपहार हो, रहस्यमय, जति खोतले पनि नयाँ-नयाँ अनुभव गराउन यसले छोड्दैन । "बाँच्नु मात्र पर्छ देखिन्छ" मेरी सासू भनिरहनुहुनुहुन्थो । गत हप्ता मेरो डरलाई अर्को चुनौती दिंदै हवाइजहाज चढेर जर्मनी पुग्दा जीवनले मलाई थप रमाइलो अनुभूति गरायो ।
म गएकी त थिएँ आफू लगायत नेपाली महिलाहरूको बारेमा कार्यपत्र प्रस्तुत गर्न र हामीले गएको वर्ष नेपालीबाट जर्मनमा अनुवाद गरेको नेपाली महिलाहरूका आत्मसंस्मरणहरूको संग्रह बारे कार्यशाला गर्न । तर यो यात्राले मेरो आफ्नो जीवनमा नौलो उत्साह थपिदियो ।
तीन दिन सम्म बिहान आठ बजे चिया पिउन भेला भएर राति ११ बजे सम्म चलेको त्यो कार्यशालामा मलाई एउटा जोडी र एक जना गर्भवती युवतीले आकर्षित गरिरहे ।
डुसेल्डोर्फबाट करीब ६० किलोमीटर पर रेन नदीको किनारमा एउटा पुरानो महल रहेछ । हाम्रो भाषामा भन्दा १४औं शताब्दीका जमीनदारको त्यो महल पछि चर्चको स्वामित्वमा आयो । चर्चले त्यसलाई सम्मेलन स्थलको रूपमा परिणत गरेछ । अतिथिको खाने, बस्ने, व्यवस्था सहित ठूला-साना सबै खाले सम्मेलन कक्षहरू भएको त्यो परिसर साहै सुन्दर एवं रमणीय थियो । वरिपरि भएका सयौं वर्ष पुराना रूखहरूले हरेक पटकको भेटमा हामीलाई आफ्नो परिपक्वताको संझना गराइरहन्थे ।
पहिलो दिन साँझ पाँच बजे कार्यक्रम स्थल पुगेर ११३ नं को कोठामा आफ्नो सामान थन्क्याएपछि सूर्यास्त नहुँदै ६ बजे बेलुकाको खाना खायौँ । ७ बजेदेखि हिंदीका प्रसिद्ध लेखक प्रेमचंदकी नातिनी लेखिका सारा राईको प्रवचन थियो ।
मेरो छेउमा भारतीय मूलका एक जना वरिष्ठ पुरुष बसेका थिए । उनको छेउमा उनकी पत्नी होलिन् । परिचय भलाकुसारीपछि उनले इस्टकोटबाट आफ्नो भिजिटिङ् कार्ड दिए । डा. इन्दु प्रकाश पाण्डे र श्रीमती हाइडेमरी पाण्डे । छेउकी उनैकी पत्नी रहिछिन् त्यसबाट थाहा भयो ।
"तपाईँको घर कहाँ हो?"
"नेपाल हो ।"
"मेरो पनि भारत हो ।"
"भारतमा कहाँ ?"
"कहाँ भन्नु! देहरादूनमा सानो घर थियो । अघिल्लो वर्षसम्म हरेक बर्ष जाने गर्थें तर यो वर्षदेखि जान छोडे । अब ९५ वर्षको पनि भएँ ।"
"हो र! म भर्खरै देहरादून गएर आएकी ! साह्रै रमाइलो ठाउँ!"
यत्तिकैमा सारा राईको प्रवचन शुरु भयो । उनकी सहजकर्ता थिइन् डा. योहाना हान । शरीर र मष्तिष्क दुवैले सुन्दर युवती । भर्खरै उनको किताब प्रकाशित भएको रहेछ, सारा राईकै कथा संग्रहको सामालोचना र अनुवाद ।अहिले उनी गर्भवती रहिछिन् । हेर्दा आजभोलि नै हो कि जस्तो देखिन्थ्यो । उनको स्फूर्ति र उत्साह देखेर म दङ्ग परेँ । आफ्नो त्यस्तै समयको सम्झना आयो । "आमा यसरी बौद्धिक अभ्यासमा व्यस्त भैरहँदा पेटभित्र निस्कन तयारीमा रहेको बच्चो के सोच्दै होला ? त्यसले कस्तो संस्कार पाउला ? त्यो पनि पक्कै आमाजस्तै विद्वान् होला ! "
लेखिका राईका रमाइला कुरा, उनको लेखकीय जीवन । दत्तचित्त भएर प्रवचन सुन्यौं र छलफल पनि गर्यौं । ९ बजेदेखि अर्को प्रस्तुति थियो भारतीय महिला संपादक, प्रकाशक र लेखिकाहरूको बारेमा बनेको वृत्तचित्र । त्यो अझ प्रभावकारी थियो । यति गर्दा रातिको १० बजेको थियो । उद्घोषक अब बारमा भेटौं र बाँकी छलफल त्यहीं गरौँ भन्दै बिदा भए । मेरी सहकर्मी योहाना म पर्स लिन जान्छु भनेर गइन् । म दोधारमा परें । के गर्ने होला! कोठामा जाऊँ कि सबैसँग जाऊँ । तर सँगै आएका रुद्र अघि खाना खाएपछि नै कोठामा गैसकेको हुँदा मैले पनि नजाने निर्णय गरें ।
निस्कदै गर्दा लट्ठी हातमा लिएर हिंड्दै गरेका पाण्डे जी र म सँगै भयौं ।
"थाक्नुभयो होला । अब आराम गर्नुहोस् ।"
"होइन, श्रीमतीले के भन्छिन् । एकछिन बारमा जाने भन्छिन् कि! उनलाई मन लाग्यो भने उतै जान्छौं ।"
कस्तो रमाइलो ! कत्रो उत्साह ! कस्तो प्रेम ! अनि कति सुन्दर साथ!
"तपाईँको साँझ रमाइलो होस् ।" म हतार हतार कोठातिर लागेँ । दस बजिसकेको भएपनि अझै अँध्यारौ भैसकेको थिएन । ढोका खोल्ने कार्ड पनि ल्याइन, रुद्र निदाइसकेको भए के गर्ने होला । मोबाइलमा फोन गर्नुपर्ला । भोलिको प्रस्तुतिको लागि पनि अलिकति तयारी गर्नुपर्ने । यस्तै कुरा मनमा गम्दै ढोकामा पुगेर ढकढकाए । ढोका खुल्यो ।
गोष्ठीमा पाण्डेय पति-पत्नीको सहभागिता कुनै युवाको भन्दा कम सक्रिय थिएन । दुवैको मुहारमा थकानको कुनै संकेत पटक्कै देखिंंदैन ।हरेक प्रवचन मन लगाएर सुन्छन् र छलफलमा सहभागि पनि हुन्छ्न् । एउटा कार्यपत्रको त श्रीमती पाण्डेय सहजकर्ता पनि थिइन् । डा. इन्दु प्रकाश पाण्डेय सन् १९२४ मा उत्तर प्रदेशको राय बरेली जिल्लाको शिवपुरी गाउँमा जन्मिएका रहेछन् । भारतीय स्वतन्त्रता आन्दोलनमा पनि सहभागी भएर जेल जीवन पनि भोगेका पाण्डेले १९४९ मा हिंदी भाषा र साहित्यमा एम ए, पी एच डी र डिलिट समेत गरेका रहेछन् । त्यसपछि विभिन्न महादेशका विश्वविद्यालयमा अध्यापन गरी अहिले जर्मनीमा अवकाशप्राप्त जीवन बिताउँदै रहेछन् । उनका तीन छोरा हाल अमेरिकामा छन् जो अहिले ७० नाघिसके । श्रीमती हाइडेमरी पाण्डेसँगको उनको वैवाहिक जीवनले पनि ५० वसन्त पार गरिसकेछ । उनका अनेकौं कृति प्रकाशित छन् ।
"मैले पनि आत्म कथा लेखेको छु नि!" मेरो प्रस्तुतिपछिको कफी ब्रेकमा उनले भने ।
"हो र! म पढ्नेछु ।"
"आप बीती ।"
"कस्तो रमाइलो"
"हो जीवनमा रमाइलो गर्नुपर्छ! मैले एक पटक ठट्टामा म बाँचें भने आफ्नो ९०औं जन्मदिन अलास्कामा मनाउँछु भनेर घोषणा गरेको थिएँ । ९० पुगेपछि आफ्नो कुराको पालन गर्नै पर्यो ! अनि छोरा नाति सबै अलास्का गएर मनायौं!"
अति सरल व्यक्ति । निश्छल सानो बालक जस्तो ! उनको सरलता, कर्मठता, लगनशीलता देखेर मलाई धेरै प्रेरणा मिल्यो! के म पनि बाँचे भने त्यो उमेरमा कार्यशालामा भाग लिउँला त! कि ऐया र आत्था गर्दै औछ्यान परेकी हुँला! के हो त जीवन र यसलाई जिउने सही कला ?
तेस्रो दिन एउटा कार्यपत्र प्रस्तुत हुँदै गर्दा पाण्डे जी उठे अनि लौेरो नली गए । मलाई लाग्यो अब उनलाई थकाइ लागेछ, एकछिन बाहिर गए होला । तर के हुन्थ्यो! उनी त दुइ हातमा पानी भरिएका दुइ गिलास लिएर आइपुगे । एउटा आफूलाई अर्को धर्मपत्नीलाई ।म र रुद्र मुखामुख गरेर हाँस्यौं । हाम्रा आँखाले एकअर्कालाई भन्दै थिए, "हेर यस्तो पो हुनुपर्छ जीवन र प्रेम!"
पाण्डे दम्पतीसँग बिदा भयौँ अर्को वर्ष फेरि भेट्ने बाचा सहित! अर्का एक अति प्रिय दम्पतीले हामी ट्याक्सीमा जान लागेको देखेर रेल स्टेशनसम्म पुर्याइदिेए । उनीहरूको पनि यो सहभागिता दोस्रो पटक रहेछ ।
"अघिल्लो वर्ष रमाइलो लागेको थियो । त्यसैले यस पटक पनि आयौं ! तपाईहरूसँग भेट भयो! यस पटक झन् रमाइलो भयो ।अब भेटिरहनुपर्छ । "
"हो मलाई पनि"
"फेरि छिट्टै भेटौँला ।"
त्यसैले म डर लागेपनि हवाइ यात्रा गर्छु । किनभने यसले जीवन बाँच्न सिकाउँछ । यात्रा भन्दा प्रभावकारी शिक्षा अरू हुँदैन ! जीवन भनेकै गतिशीलता हो! रोकिनु भनेको समाप्ति हो! त्यसैले त बुद्धले भनेका छन्: चरैवेति! चरैवेति!
Dr. Pandey on his 90th Birthday in Alaska |
Me and Rudra with Dr. Pandey |
Mr. & Mrs. Pandey |
Sara Rai and me, Rudra and Dr. Pandey |
Haus Villigst |
before my presentation |
Comments
Post a Comment