किन बस्छ्यौ एक्लै
चित्त दुखाएर बित्थै
आफूलाई फकाई त हेर
छन् छन् चुरा बजाई त हेर!
आहा! कति रमाइलो दिन
साँच्चै कति घमाइलो दिन
घर बाहिर गएर त हेर!
घाम अस्ताउन लाग्यो
अब घर जान लाग्यो
उसलाई बिदाईको हात हल्लाएर त हेर!
सन्ध्या सुस्त पाइला चाल्दै आई
त्यसलाई गम्लङ्ग अँगालेर त हेर!
दिनभरी चरेर गाई गोठमा पस्यो
उसको खबर सोधेर त हेर!
माउ देखेर उफ्रियो बाच्छो
त्यसलाई फुकाएर उसैसँग दौडी त हेर!
कलकल बग्ने तिम्रो घर छेऊको कुलो
त्यसमा दिनभरिको कल्मष पखाली त हेर!
रातकी रानी फुल्ने तरखर गर्दैछिन्
तिमी पनि तिनको बासनामा नुहाएर त हेर!
पल्लो घरकी हजुर आमाले साँझको आरती गर्नुभयो
तिमी पनि घण्टको तालमा नाचेर त हेर!
सुनौलो गोधूली साँझ
तिमी पनि सुन भएर त हेर!
आमाले खाना पकाउन चुलो बाल्नुभयो
छानोबाट उडेको धुँवा सुँघेर त हेर!
कीराहरू बास बसेर गीत गाउन थाले
तिमी तिनको सुरमा सुर मिलाई त हेर!
कति सुन्दर छ संसार
होइन त ?
तिमी आफ्ना आँखा उघारी त हेर!
पाइलामा पाइला मिलाई त हेर!
दुःखलाई बिर्सेर त हेर!
छन् छन् चुरा बजाई त हेर!
Comments
Post a Comment