नयाँ पाहुनाको स्वागत

हिउँ परेको चीसो रातमा
दैलोमा उभिएको छ नौलो पाहुना
ढोका ढकढकाउँछ
बेजोड छ उसको ढकढकाइ
मेरो कुकुर डराएर काखमा गुटुमुटिएको छ ।

बहिर उसको स्वागतमा अतिसबाजी हुँदै छ
आगाका झिल्का आकाशमा फ्याँकेर
मदिराको खोलोमा नुहाएर
हावामा नाच्दै
गिलास जुधाउने निहुँमा आँखा जुधाउँदै
त्यस अनजान पाहुनाको स्वागतमा मस्त छन् सबै ।

त्यो भीडमा एक्ली म
जोडीहरूमा बिजोडी म
आफ्नो ढोकाको सानो चरबाट चियाउँछु
बडेमानको भारी बोकेको त्यो पाहुना
मेरो ढोका अगाडि गजधम्म उभिएको छ ।

मलाई डर लाग्छ
मन सशंकित हुन्छ उसको काँधको भारी देखेर
के होला त्यो बोकिनसक्नु काँधको भारीमा !
हे मेरा नव अतिथि !
नव वर्ष!
बिन्ति छ मेरो तिमीलाई
मलाई कुनै कोसेली चाहिँदैन
बरू तिमी खाली हात आऊ म ढोका खोल्न तयार छु
 म तिमीलाई स्वागत गर्न तयार छु ।

Comments