आऊ कुरा गरौँ
तिमी रिसमा उछिट्टिँदाका होइन मायामा गुटमुटिँदाका कुरा गरौँ हामी
आऊ कुरा गरौँ आज, तिमी-हामी लजाएको त्यो पलका
एक अर्कालाई हेर्न नसकी आँखा चिम्लिएका ती छिनका
तिमीले चाहे
तिमीले चाहे फेरि पनि सोह्र बर्से भई दिन्थेँ
घुम्टो ओढी, बेहुली बनी फेरि पनि लजाइदिन्थेँ
नुहाएर सिउँदो काढी तिम्रो सिन्दूर पर्खिबस्थेँ
पञ्चेबाजा अघि-अघि तिम्रै पछि लाइदिन्थेँ
फेरि पनि मधुमासको अँगालोमा हराइदिन्थेँ !
गुलाफ र माया
हेर काँडा भएरै त, प्रणय दिवसमा गुलाफको महत्त्व छ ।
कहिलेकाहिँ रिसाउने भएरै त मेरो मायाको पनि अस्तित्त्व छ ।।
खुर्सानी छुचो हुन्छ, खायो कि बाडुली लाग्छ ।
तिम्रो माया पनि के कम, सम्झ्यो कि बाडुली लाग्छ ॥
खहरेको बगरमा मैले बालुवा र माटो छुट्ट्याउन सकिनँ ।
मायाको सागरबाट स्वार्थ र निस्वार्थ खुट्याउन सकिनँ ॥
हरदम बज्छ मोबाइल, भाइबर कि म्यासेन्जर छुट्ट्याउन सकिनँ ।
मुटुको ढुकढुकी कि तिम्रो सम्झना, कुन मेरो ? खुट्याउनै सकिनँ ॥
सिन्दूर, चुरा र पोतेको कसीमा मेरो समर्पणलाई नाप्न खोज्छन् सबै ।
म आफै तिम्रो रङ्गमा रङ्गिएको, खोई ? देख्दैन कोही कबै ॥
के मेरो रगतभन्दा पनि गाढा सिन्दूरको रङ्ग हुन सक्ला ?
जीवनका हर श्वास नै दिए पछि अर्को बहुमूल्य उपहार के हुन सक्ला!!!
मायाको क्यालेन्डर
बैसाखमा ढकमक्क फुलेको लालीगुँरास
जेठको तपतपाउँदो दिनपछि साँझ चल्ने मन्द पवन
असारे झरीको शीतल बाछिटा
साउनमा लहलहाउने हरिया ब्याड
भदौरे तीजमा गरेको सोह्र श्रृङ्गार
असोजको मगमग कबाब
कार्तिकको सेल-रोटी र आलुको अचार
मंसिरमा पाकेको सुनौलो धान-खेत
पुसको न्यानो घाम
माघको सरस्वती पूजामा खाएको बुनियाँ
मधुमासको वार्षिकोत्सव सम्झाउने फागुनमा झ्यालबाट छिरेको जुनेली
चैतको हुर्हुरे बतासपछि शान्त भएको साँझ
यी सबैभन्दा मीठो र प्यारो छ तिम्रो माया
हरेक वर्ष, हरेक महिना र हरेक दिन
त्यही मायामा हराएर बाँच्न पाऊँ !
Very Nice ......
ReplyDelete:-) धन्यवाद
DeleteThis comment has been removed by the author.
ReplyDelete