दौड प्रतियोगिता

दौड प्रतियोगिता हो यो
अथवा हो यो  म्याराथन
हाम्रो नश्वर जीवन!

थरी-थरीका प्रतियोगी
कुनै भोगी त कुनै जोगी
कुनै बलिया कुनै निर्धा
कुनै लाटा त कुनै बाठा

एउटै छ दौड मैदान
तर सबैका गति अलग-अलग
गन्तव्यमा पुग्ने अवधि पनि सबैका छन् फरक-फरक ।

कोही दौडन्छन् झरझुट्ट गहनामा सजिएर
कोही टालेका जडौरीमा नसी-नसकी पाइला चालेर
कोही मोटरमा हुँइकिन्छन्
त कोही साइकलमा
कोही डोकोको भारीले थिचिएर कुप्री परेका छन् ।

अनिश्चित यो भागमभाग
पैसा, यश, कीर्ति वा पुण्य के को लागि ?
अनिर्णित अवधिको यो प्रतियोगिता
धन, मान वा इज्जत के का लागि ?
थाहा छैन केका लागि!


यो दौड प्रतियोगिताका सहभागी
तिमी, म अनि हामी सबै
दौडिरहेका छौँ आफ्नो गतिमा
कृत्रिम गन्तव्य बनाउँदै
त्यो रूख, त्यो घुम्ती, त्यो ओरालो र त्यो उकालो भन्दै
सुस्ताउँछौँ तर फेरि दौडन बाध्य छौँ
किनभने दौडिरहेका छन् हाम्रा  वरिपरि सबै ।

दौडन्छौँ तबसम्म
जबसम्म त्यो अन्तिम घण्टी बज्छ
कठपुतली हौँ हामी त्यसका
जसले त्यो अन्तिम घण्टी बजाउँछ
त्यसपछि
शायद उसले हाम्रोलागि यस प्रतियोगिताको अन्त्य गर्छ ।

त्यसपछि छनोट हुँदो हो कतै अनजान स्थलमा
प्रथम, द्वितीय, तृतीय अनि सान्त्वना पुरस्कारको
अनि शायद थकित आत्माले शान्तिको साँस फेर्न पाउँदो हो !

हामी पछि पनि  दौडिरहने छन् यसरी नै
जसरी अगाडि पनि धेरैले आफ्नो दौड सिध्याए ।

दौड प्रतियोगिता हो यो
अथवा हो यो म्याराथन
हाम्रो नश्वर जीवन!


परिवारमा एक पछि अर्को दुःख थपिएको छ । हामीले हाम्रा अग्रज गुमाइरहेका छौँ । गत शनिवार (13.02.2016) हाम्रा आदरणीय भिनाज्यू (फुपाज्यू) गोपालप्रसाद शर्मालाई गुमाउनुपर्दा फेरि मन विचलित भयो । त्यसै विचलित मनको बह कलमबाट पोख्न खोजेँ । मेरो यो लेखन हाम्री आदरणीय ममतामयी ठुल्दिज्यू माधवी शर्मामा सादर समर्पण ।

Comments