आमाको माया, अनौठो काया
कसरी जुरायौ ?
कसरी बन्यो त्यो स्नेह-पुञ्ज, आश्चर्य लाग्दछ
“आमा” यो शब्द मात्र नै
पनि अपूर्व लाग्दछ ॥
आमालाई रच्ने, आमा
सिर्जने, आमालाई बनाउने
छ भने यदि क्यै कुनै
शक्ति आमालाई चिनाउने ।
जो होस् त्यो दैव, देउता
वा ईश, तिमीलाई धन्यवाद
आमा न हुँदा के हुन्थ्यो
होला ! तिमीलाई साधुवाद ॥
मायाकी खानी, दयाकी
मूर्ति, स्नेहकी ती नदी
ममताको अर्थ, नराखी
स्वार्थ बनेको त्यो छवि ।
शीतलु छाया, आमाको माया, नसुक्ने मुहान
सन्तानका लागि सर्वस्व
दिने ती आमा महान ॥
मायाको रूप, प्रेमको अर्थ,
त्यागको बखान
आमाले मात्र बुझाउन
सक्छिन् ख्यालठट्टा नठान ।
गीताको कर्म, त्यागको
मर्म सिकाउने लाख छन्
सबैको भन्दा उत्तम ज्ञान
आमाको काख झन् ॥
संसार बनाउने, आमालाई रच्ने, हे दैव कस्ता छौ ?
के तिमी पनि दयाकी मूर्ति यी आमा जस्ता छौ ?
ईश्वर तिमी आमालाई रच्ने,
तिमीलाई नमस्कार ।
आमाको माया, यो बुझ्न
पायाँ, अमूल्य पुरस्कार ॥
Thank you.
ReplyDelete