चाहे जर्जर होस् शरीर त्यसमा चाउरी परेका होउन्
पृथ्वीमा नव पालुवा कि त कुनै धपधप बलेका होउन् ।
त्यो मृत्यु कति निष्ठुरी ऊ त सँधै ताप्ने चिता दनदन
ऊ भन्दा बलवान छैन जगमा कसलाई गरूँ वन्दन ॥
छोराको मृत देह काख छ हरे आमा ती के पो गरुन्
आँसूको दह बन्छ, रुन्छ मन त्यो, विधवा ती के पो भनुन् ।
बाबुको मृत देहमाथि बबुरो चाहे गरोस् क्रन्दन
बहिरो हो कि त देवता मरणको, कसलाई गरूँ वन्दन ॥
मृत्यु निश्चय आउने अतिथि हो, निम्ता ऊ कुर्दैन रे
माया, प्रेम, दया र मोह-ममता ऊ केही जान्दैन रे ॥
गाली, द्वेष, घृणा रिसै जति गरूँ सुन्दैन रे क्रन्दन
मृत्यु रोक्न म के गरी सफल हुँ, कसलाई गरूँ वन्दन ॥
आत्मा हुन्छ अजम्बरी भनी सुनेँ, मान्दैन मेरो मन
ख्वै मेरा प्रियजन, म खोज्छु तन नै, बुझ्दैन मेरो मन ।
हे आमा! तिमी छौ कहाँ भनी गरून् ती सन्तति क्रन्दन
सुन्ने छैन कसैगरी मरणले, कसलाई गरुँ वन्दन ॥
Comments
Post a Comment