शून्य मौनता

बुद्धले शून्यबाट  संसारको जग ठड्याए
र त्यसलाई फेरि शून्यमै ल्याएर विसर्जन गरे
त्यही शून्य कुनै बेला केही होइन
कुनै बेला सब थोक हो
अनि फेरि त्यो सबै कुराको अभाव पनि हो ।

आज लाग्छ
मौनता पनि शून्य जस्तै
सबै थोक हो
ज्ञान र आविष्कारकी जननी हो
अनि केही होइन पनि  ।

शून्यताले जस्तै मौनताले पनि पोल्छ
अभावको भोक जस्तै मौनताले पनि भित्रभित्रै पेट बटार्छ
मौनता शायद शून्यता जस्तै ज्ञान प्राप्तिको माध्यम पनि हो
शून्यताले बुद्धलाई दार्शनिक बनायो
मौनताले गौतमलाई बुद्ध बनायो ।

तर
सांसारिक जीव हुँ म
मलाई शून्यता पनि होइन
मलाई मौनता पनि होइन
मलाई त
चर्यागीतको मधुर संगीत मनपर्छ
मलाई मृदङ्ग र ढोलकको ताल मनपर्छ
झिसमिसेमा चराहरूको कलरव मनपर्छ
मलाई बुवाका सदुपदेशको गम्भीर ध्वनि मनपर्छ
मलाई आमाले माया गरेर "छोरी" भनी बोलाएको मनपर्छ
मलाई त शून्य मौनता चिर्ने कसैको मायालु आवाज मनपर्छ ॥

(शून्यता र मौनताले ल्याएको एक्लोपन बिर्साउने प्रयास)

२१ मंसीर २०७३

Comments