हे दैव लौ खोस्दियौ



मृत्यु शास्वत सत्य हो भनी पढें, लेखें परीक्षा पनि
गीता, दर्शन-शास्त्रले पनि भने आत्मा अजर हो भनी । 
थोत्रेका कपडा सरी दिन-दिनै आत्मा शरीर फेर्दछ
यी सब जान्दछु त्यै पनि मन भने भित्रै कता दुख्दछ ॥

हे आत्मा! तिमी छौ अमर यदि भने देख्छौ कि भूमण्डल
सुन्दैछौ कि तिमी कतै लुकिलुकी के भन्दछन् ती सुत ।
तिम्रो त्यो अनुहार सम्झि मनमा रुन्छन् ती नाबालक
मीठो बोलि सुनेर दङ्ग परने, भैगो अबेला अब ॥

आमाको ममता अमूल्य जगमा, अर्को कुनै छैन रे
माया सन्ततिमा सँधै पुगिसरी, अर्को कुनै होइन रे
आमाको तुलना हुँदैन कहिल्यै, हे दैव के रच्दियौ ?
“आमा” मात्र थिइन् मलाई बुझने, हे दैव त्यै खोस्दियौ ॥

रुन्छन् ती टुहुरा नदेखी तिमीलाई रित्तो छ त्यो आसन
हाँस्छन् ती कहिले भुलेर एक छिन, जीवन छ रे बाँचन  ।
ख्वै आमा भनी झस्किएर बिउँझे, फेरि निदाए भरे ।
यो संसार रहन्छ, चल्छ दुनियाँ, मृत्यु त शास्वत छ रे   ॥

Comments