"ए भाउज्यू! लौ न म त मरेँ! टीका किन नलगाएको ? हेर खाली निधार । दाइ अझै जिउँदै हुनुहुन्छ तपाईं भने टिकै नलगाई खाली निधार लिएर बजार-बजार हिँड्ने? मान्छेले के भन्छन् ? परिवारको इज्जतको अलिकति त ख्याल गर्नुपर्छ ।" नेपालगञ्जमा जेठको अपट्यारिलो घाममा बजारमा जम्काभेट हुँदा गीताले आफ्नी भाउज्यू विमलालाई हकारिन् । यति भनिरहँदा उनका हात झोलामा खोतल खातल गर्दै थिए । आँखा केही खोज्न व्यस्त थिए । एक छिन खोजेपछि रातो टीकाको एउटा पातो भेटियो । अनि हतार-हतार झिकेर एउटा टीका भाउज्यूको निधारमा ट्याँस्स टाँस्दै भनिन् " लौ अब कहिल्यै टीका नलगाई ननिस्कनु होला । म त सँधै ब्यागमा टीका लिएर हिँड्छु । ल ल म गएँ । घरमा सबै ठिकै होला नि! " यो घटना यति छोटो समयमा घट्यो, विमलाले केही भन्नै भ्याएकी थिइनन् । उनले आँट गरेर मुख खोलिन्: "राम्रो छ मैयाँ । म सामान बुझाउन आएकी थिएँ । गर्मीले पसीना-पसीना भएर यसो सित्तलमा एकै छिन सुस्ताउन यहाँ छिरेकी । हजुरलाई ज्वाईँसाबलाई आरामै होला ।" विमलाले यति भनिनसक्दा उनकी नन्द गीता निकै पर पुगिसकेकी थिइन् ।
ठूलो संयुक्त परिवारमा विमलाको बिहा भएको थियो । अरू देवरहरूको बिहा भएपछि उनलाई परिवारले छुट्ट्याइदियो । श्रीमान्को राम्रो आमदानी थिएन । उनी एउटा सिलाई पसलका कपडा घर लगेर हातको सिलाई गर्थिन् । त्यसबाट पुग न पुग तरकारी र दूध किन्ने पैसा आउँथ्यो । रिक्सा चढ्न पनि उनलाई लोभ लाग्थ्यो । उनी छोरा र श्रीमान् नभएको मौका पारेर सकिएका कपडा दिन र नयाँ कपडा लिन हरेक दिन दिउँसोको अपट्यारिलो घाममा बजार आउँथिन् । "पसिनाले टीका बगाइहाल्छ । आजभोलिका टीका टाँसिदै नटाँसिने ।" अघि नन्दले लगाएको टीकालाई औंलाले थिच्दै उनी बर्बराइन् । "बिहान लगाएर आएको त हो नि । बित्थैमा भनाइ खानुपर्यो । मोराहरूले पैसा मात्र धेरै लिन्छन् । राम्रो सामान दिने होइनन् । अलच्छिनाहरू!" आफ्नो रिस, पीडा सबै मनमनै टीका व्यापारीमाथि पोखेर विमला बजार भएको ठूको घरबाट बाहिर निस्किन् । लज्जा र अपमान बोधले दनदनी बलेको हृदयमा घिउ थप्ने चर्को घाममा एउटा खुइलिएको छाता ओढेर विमला घरतिर लागिन् ।
एक हप्तापछि बुढी सासूको श्राद्ध थियो । सासूले बिहानै आउन भनेकोले उनी सबेरै नुहाएर पुगिन् । त्यहाँ त उनी बजारमा टीका नलगाई गएको घटना बारे बृहत् विचार-विमर्श भैसकेको रहेछ । उनलाई चरित्रहीन, परिवारको बेइज्जत गर्ने, लाज शरम नभएकी लगायतका अनेक पगरी पनि भिराइसकिएको रहेछ । विमलाले त्यसको प्रतिवाद गरिनन् । उनले आफूलाई नै त्यस महा-अपराधको दोषी ठानिन् । उनलाई आफ्नो बेहोशीले आत्मग्लानि भयो । किन उनी सतर्क हुनसकिनन्, यसै पीडाले उनलाई भित्र-भित्रै गलायो । त्यस बेलादेखि विमलाका औंला छिन-छिनमा निधारमा पुगेर टीका भए नभएको निरीक्षण गर्छन् । उनले त्यो सम्झिरहनु पर्दैन । औंलाहरू स्वतः आफ्नो काम यन्त्रचालित झैं आफ्नो समयमा गरिरहन्छन् । शायद विमलाको दिमागमा कुनै सफ्टवेयर जडान भएको छ जसले उनका औंलालाई समय समयमा निर्देशन दिइरहन्छ ।
पाँच वर्ष पछि
अहिले गीताकी आफ्नै बुहारी आएकी छिन् । एक महिना अघिमात्र उनका छोराको धूमधामसँग बिहा भएको थियो । आज फेरि गीता र विमलाको नेपालगञ्जको त्यसै बजारमा जम्काभेट भयो । उनी आफ्नी बुहारीसँग सेतो टीशर्ट र हरियो पाइन्टमा सजिएर हिंडेकी छिन् । विमला भने आफ्नो पुरानै पहिरन थोत्रो सूतीको सारीमा त्यसैगरी सिलाएका कपडा दिन र नयाँ कपडा लिन आएकी छिन् । "ए भाउज्यू दर्शन्! कस्तो गर्मी है ! हामी सासू-बुहारी शपिङ्मा हिँडेका । भाउज्यूलाई सूतीको सारीले कति सुहाएको । म त आजभोलि सारी-कुर्ता लाउनै सक्दिनँ । कस्तो गर्मी छ । टीका-सीका सिन्दूर पनि पाइन्टमा सुहाउँदैन । आआआ! हरेक दिन को लाओस् । टीका चुरा लाउँदैमा लोग्नेको आयु बढ्ने हो र! मान्छे को आफ्नो इच्छाको कुरा हो । म त पूजा-आजा, चाड-पर्वमा मात्र लगाउँछु ।" विमला आज पनि अवाक् छिन् । के भन्ने! तीन महिना अगाडिमात्र फेसबुकमा गलामा पोते नलगाएको फोटो किन राखिस् भनेर हानिएको झटारोको दुखाइ अझै बिसेक भएको थिएन । पोते त उनले लगाएकी थिइन् । तर फोटोमा कसरी हो पोते देखिएनछ । नीलो सारीमा सुनौलो रंगको एक लुङे पोते लगाएकी थिइन् उनले । तर देखिएनछ । उनका नन्दहरू गीता र नीता अनि सासूले एकै स्वरमा तथानाम गाली गरेपछि उनले त्यो नीलो सारी लगाएको फोटो फेसबुकबाट हटाएकी थिइन् । नत्र त धरै पाइएन । विमला सोचमा मग्न थिइन् । "ल ल भाउज्यू हामी गयौँ ।" गीता बुहारीलाई लिएर एउटा कस्मेटिक पसलमा पसिन् । विमलाका आँखा एक टक नन्द र उनकी बुहारीलाई पछ्याउन व्यस्त थिए । तर यसै बीच उनका औंलाले निधारमा टीका र गलामा पोते सही सलामत छन् कि छैनन् भनेर दुई पटक जाँचिसकेका थिए ।
Comments
Post a Comment