जीवन-रेखा

धेरै दिन पछि आज चहकिलो घाम लागेको छ । जाडोमा कठ्यङ्ग्रिएका बोटबिरुवामा पनि पालुवाहरू तँछाड मछाड गरी बढ्ने क्रममा छन् । देवीप्रसाद लौरो टेकेर सकी नसकी घर नजिकैको पार्कको फँलैँचामा आएर बसे । एकैछिन बसेपछि न्यानो हुँदै आयो । लौरो छेऊमा राखेर टोपी फुकाले । टोपी काखमा राख्न आँटेका तलतिर झ-यो । उठाउन खोजे ।  ढाड अररियो । निहुरिनै सकेनन् । लौरोले टिप्छु भनेर यसो घोच्न थालेक थिए, हात कामेर लौरो पनि खत्रक्क भुइँमा खस्यो । यति गर्दागर्दै देवीप्रसाद पसीना-पसीना भैसकेका थिए । निकै बेरको संघर्षपछि आ! होस् भनेर बिस्तारै ढल्किए ।

माथि आकाशमा, सेतो नागबेली धर्सा कोर्दै प्लेनहरू उडिरहेका छन् । कुनै यताबाट उता जान्छन् त कुनै उताबाट यता आउँछन् । उनले सम्झे ती सेता धर्का छोरोले सानो छँदा उनको कापीको सेतो पानामा कोरेका काला धर्सा जस्तै अव्यवस्थित छन् । अस्त-व्यस्त छन् । तर ती उड्ने जहाजको गन्तव्य निश्चित छ । तिनको गन्तव्य अव्यवस्थित छैन ।

एउटा अर्को जहाज पूर्व तिरबाट आयो र पश्चिमतिर हानियो । ती धर्साहरूमाथि अर्को सेतो धर्सो तानियो । देवीप्रसादलाई झट्ट सम्झना भयो, उनी पनि कुनै दिन आफ्नो परिवार लिएर यसै गरी जहाजमा उडेर, घरबाट यति टाढा टोरन्टो आएका थिए । उनी चढेको प्लेनले पनि त्यसै गरी धर्सा कोरेको थियो होला । त्यही बनेछ क्यार उनको भाग्य रेखा पनि । जहाजले कोरेका सेता धर्सा जस्तै: रंगहीन, स्वादहीन र रूपहीन । कल्पनामा हराउँदै गए देवी प्रसाद ।

... सन्तानको सुन्दर भविष्यको खोजीमा आफ्नो सुखद जीवनको आशामा सबैको देखासिकी गरेर क्यानाडाको पी.आर. भरेको थिएँ । ठूलै विजय हासिल गरेजस्तो भएको थियो । ईश्वरले पनि चिताएको सबै पुर्याइदिएका थिए । श्रीमती, छोरा-छोरी सहित जीवन यात्रा चलेकै थियो ।
एक्लो जन्मिए पनि, बा-आमा, भाइ-बहिनी भएको ठूलो परिवार थियो । ठूलो परिवारको कोकोहोलोमा जीवन यात्रा शुरू भयो । बीचमा साथीभाइहरू पनि जीवन यात्राका फरक फरक बिसौनीमा साथ दिन आइपुगे । त्यसपछि सात जन्म सम्म साथ दिने बाचा गरेर सँगिनी पनि आइन् । छोराछोरी पनि जन्मिए, आफू नमरुन्जेल साथ दिने, बुढेसकालका सहारा ।

बिस्तारै मन बदलियो कि समय, थाहा छैन । उनीहरू बदलिए कि म बुझ्नै सकिनँ !  दाजु-भाउज्यू, भाइ-बुहारी, दिदी-बहिनी सबै तर्किन थाले । त्यो आत्मीयता, त्यो भनाभन, त्यो हाँसो-ठट्टा अब बाल्यकालको मीठो सम्झना मात्र बाँकी रह्यो । हरेस नखाई अघि बढिरहेँ । हुँदा-हुँदा सात जन्म सँगै जिउने बाचा गरेकी जीवन सँगिनीले पनि छोडेर गइन् । उनको चिनो, उनले आफूलाई भन्दा पनि बढी माया गरेका उनका आँखाका दुई नानी, छन् नि अझै पनि यतै कता । उनको सम्झना आउँदा तिनलाई भए पनि हेरेर चित्त बुझाउन मन लाग्छ । उनकै जस्ता पिँडुला, उनैका गाला, उनकै कपाल, उनकै आँखा, उनकै हाँसो ! मानौँ उनी झन् तन्नेरी भएर आएकी हुन् ।  तर म अभागीको त्यो भाग्य कहाँ!  मेरी जीवनसँगिनीका ती दुई तन्नेरी अवतारहरू हामीलाई ढोँगी र उनीहरूको भाषामा रेसिस्टको पगरी गुँथाएर यो अनजान दुनियामा सेकुलरिस्टको भूमिका निभाउँदै छन् । निख्खर कालो, डढेको हाँडी जस्तो अफ्रिकी ज्वाईँ र आँखा मात्र देखाएर सर्वाङ्ग ढाकेकी यमनी बुहारीसँग नाता गाँसेर उनीहरू आफूले संसार विजय गरेको ठानेका छन् । सँधै हाँसीरहने, मलाई सात जन्म साथ दिने बाचा गरेकी मेरी सँगिनीलाई  यसै पीरले दिन प्रतिदिन भित्र भित्र गाल्दै लगेको म लाटोले थाहै पाउन सकिनछु । थाहा पाएको भए, उनलाई खुशी तुल्याउँथे होला, उनको चित्त बुझाएर यति छिटै जान दिने थिइनँ होला । म सक्थेँहोला तिनलाई रोक्न । तर म तिनको बाहिरी मुस्कानमा भुलिरहेँ । त्यो मुस्कानको तुवाँलोमा उनको रोएको मन देख्न सकिनँ ।" 

देवीप्रसादले लामो साँस ताने । माथि आकाशमा कता-कताबाट बादलहरू अघिनै जम्मा भैसकेछन् । ठाऊँ-ठाऊँमा थुप्रिएका बादलले विभिन्न आकृति बनाएछन् । कुनै घोडा जस्ता, कुनै हात्ती जस्ता । परको एउटा थुप्रो त दुई चुल्ठी कपाल बाटेकी महिलाको जस्तो रहेछ । देवीप्रसादले नियालेर हेरे । हेर्दा हेर्दै त्यसमै उनले हाँसीरहेकी आफ्नी जीवन सँगिनी देखें । देवीप्रसाद दङ्ग परे । उनलाई गुनासो गर्न मनलाग्यो । रुन्चे स्वर पारेर उनले जीवन संगिनीको त्यस प्रतिच्छायालाई भने:

"तिमी त यो संसारको स्वार्थ सहन नसकेर सजिलै गैहाल्यौ । हेर त म कति एक्लो छु ! किन छोडेर गयौ मलाई!  किन झुक्यायौ तिमीले मलाई?  एक अर्काको आँसु पुछेर बस्थ्यौ होला अहिले ! मेरो लट्ठी झर्दा तिमीले उठाइदिन्थ्यौ होला । मलाई राति निद्रा नलाग्दा छेऊमा सुतेकी तिमीलाई उठाएर कचकच गर्थेँ हुँला । म कहिलेकाहीँ बिर्सन्छु तिमी नभएको । अनि तिमी सँगै छौ भनेर नहल्ली सुत्छु । अझै पनि म भित्तातिरै सुत्छु । तिमीलाई राति पटक-पटक उठिरहनु पर्छ, बत्ती बाल्नुपर्छ भनेर । तिम्रो मोबाइल पनि म चार्ज गरेर खाटको छेऊमा राखिराख्छु । हरेक बिहान म दुई कप चिया बनाउँछु । बिर्सन्छु तिमी छैनौ भनेर अनि हरेक दिन तिम्रो चिया पनि मै पिउँछु ।

किन एक्लो पार्यौ तिमीले मलाई? ती तिम्रा छोरा-बुहारी, छोरी-ज्वाईले मेरो भाषा बुझ्दैनन्, मेरो भावना बुझ्दैनन् । नाति नातिनालाई घाममा सुताउन मैले बनाएको कौसी, उनीहरूलाई कोक्रोमा सुताउन छानामा अड्काएको अंकुसे, ती सबै त्यसै छन् । मेरो कल्पना तिम्रो सपना! अहिले त मलाई त बहुलायो भन्छन् । म कति एक्लो भएँ! कहाँ जाऊँ! मलाई पनि छिट्टै तिमीसँगै बोलाइहाल न! ... ” देवीप्रसाद टोलाइरहे । हेरीरहे बादलको त्यो आकृति । त्यही बादल चढेर आउँदीहुन् तिनकी प्रेयसी उनलाई हेर्न हरेक दिन!  

“सरी! इज इट योर क्याप एण्ड स्टिक!” एउटा सानो बालकले देवी प्रसादको हात समाएर हल्लायो । प्रेयसीलाई हात दिएर  आफूसँगै लान अनुरोध गरिरहेका देवीप्रसाद झसङ्ग भए ।

“येस, इट इज । थ्याङ्क यू”

उनले फेरि माथि हेरे । उनका गुनासा अझै सकिएका थिएनन् । तर कठै! उनकी प्रेयसीको आकृति पापी हावाले उडाएर लगिसकेछ । टाउको घुमाएर भेट्ने कोशिश गरे, तर व्यर्थ । त्यो आकृति फेरि त्यो विशाल आकाशको नीलिमामा विलीन भैसकेछ । 

देवी प्रसादले टोपी लगाए । लौरो टेकेर बिस्तारै उठे । नजीकै खेलिरहेको नानीमाथि उनको आँखा पर्यो । उनको नाति पनि त यत्रै भयो होला । तीन वर्ष अगाडि डाक्टर कहाँ जाँदा बाटोमा जम्काभेट भएको थियो । बाबुआमाले बेबी कारमा गुडाएर हिँडेका थिए । बौलट्ठी रोग बच्चाहरूलाई सर्छ भनेर उनीलाई भेट्न नआएका रे ।

देवीप्रसादले लामो साँस फेरे । “जहाँ छन्, सुखी होउन्! उनीहरूको कल्याण होस् ।“  माथि आकाशका धर्साहरू सबै मेटिएछन् । आकाश सफा भएछ । ती जहाजहरू आकाशको कुनै अर्को भागमा धर्सा कोरीरहेका होलान् । तल धरतीमा भने त्यो सानो बालक आफ्नी आमासँग बालुवामा खेल्दै लौरोले उसको काल्पनिक खोलो कोर्दै रहेछ ।   

    

Comments

  1. रविचन्द्रJune 12, 2017 at 1:11 AM

    यथार्थ भरिएकाे पीडा हाे । जीवनका रेखा प्लेनले काेरेका रेखा जस्तै छन् । केहि समयपछि मेटिइहाल्छन् ।

    ReplyDelete
    Replies
    1. कुनै मेटिंछन कुनै हल्का मात्र शायद । धन्यवाद ।

      Delete

Post a Comment