कहिलेसम्म ?



आसैआस कहिलेसम्म, जिउनुको पीडा कहिलेसम्म
भन्छन् मायाको छहारीमा ताप केही कम हुन्छ, तर कहिलेसम्म?

ठेसै ठेस लागेका नील डामहरू छन् मनैभरि
सान्त्वना र भरोसाको मलम लगाइरहूँ म कहिलेसम्म ?

ढुङ्गे बाटोमा खाली पाउ हिँडिरहेकी छु, रगतपच्छे भएर
साथी र आफन्तले साथ दिन्छौँ त भन्छन्, तर कहाँसम्म ?

आशाको फूलबारीमा रोपिएक फूलहरू सँधै फक्रँदैनन्
तर तिनैमा बारम्बार मल-जल गरिरहूँ म, कहिलेसम्म ?

लिपपोत त धेरै गरेँ अनुहारमा, थरीथरीका पहिरन पनि फेरेँ
तर सँधै यस्तै रहिरहुँला  र म! कहिलेसम्म ?

वसन्त ऋतुको आगमनमा भवँरा रमाएर फूल चुम्न जान्छ
लहरा चमर हम्कन्छन्, चमेलीले सुगन्ध छर्छ, तर कहिलेसम्म ?

मेरो र तेरो भनी रस्साकसी खेल्छौँ हामी दुनिया
तर मेरो वा तेरो यो रहिरहला भन कहिलेसम्म ?


Comments