"बरू म गुहू खान्छु तर जागीर खान्न"
"स्वास्नीलाई जागीर खान पठाउनुको साटो आफै आत्महत्या गरे भैगयो नि!"
"फलानीको प्रमोशन कहाँ त्यसै हुन्छ र, हाकिम नै त्यसको नाठो, नत्र कसरी हुन्थ्यो ?"
"फील्ड जाने भनेर कहाँ जान्छे कहाँ ?"
"स्वास्नीलाई विदेश पठाउनु भनेको अर्कासँग पोइल जा भन्नु हो"
"त्यसका छोराछोरी खानै नपाएका सुकेनास रोग लागेका जस्ता छन् । आमा चाहिँको घरमा बास भए पो"
"हेर भाई, श्रीमतीलाई जागिर खान नपठाऊ है, अर्कै मानिस धनी होला"
"त्यसले घर बाहिर गएर अनगिन्ती लोग्ने मान्छेहरूलाई फँसाएकी छ, म त्यसलाई आफ्नो लोग्नेलाई फँसाउन दिन्न । त्यसले बोलोस् न मात्र एकपटक म त्यसलाई के गर्छु ।"
"स्वास्नी पाल्न नसक्ने नामर्दसँग के बिहा गर्नु ।"
हाम्रो समाजमा बीसौं शताब्दीको अन्तमा कुनै जागिर खाने वा खान चाहने महिलाका बारेमा अभिव्यक्त हुने यस्ता प्रतिक्रियाहरू सामान्य थिए । यस्ता कुरा अझै पनि फाट्टफुट्ट सुन्न पाइन्छ । तर धेरै कम भैसकेको छ ।
हामीहरू वर्ग विभेदका सिद्धान्तको कुरा गर्छौं, बुर्जुवा र श्रमिक वर्गको कुरा गर्छौं, बाहुनवाद र नारीवादको कुरा गर्छौं तर तिनै अनगिन्ती वर्ग भित्र रहने त्यस्तो अर्को वर्गविभेद पनि छ जसको कुरा हामी कहिल्यै गर्दैनौं: त्यसलाई स्वावलम्बी र परावलम्बी वर्गविभेदको नाम दिन सकिन्छ होला ।
विवेकशील प्राणीले आफ्नो लागि आफू अनुरूपको भौतिक संसार निर्माण गर्छ भन्ने मार्क्सको सिद्धान्त यहाँ पनि लागू हुन्छ । किनभने आफूलाई चरित्रवान र उच्च देखाउनका लागि परावलम्बी वर्गले स्वावलम्बी हुन खोजेका नारीहरूको चरित्रहत्या गर्यो र आफ्नो वर-परको समाजमा ती स्वास्नीमानिसहरू बारे गलत भावना जन्माउन सफल भयो । जागिरे पुरुषहरूका बारेमा यस्तो कुरा भएन किनभने ऐतिहासिक कालदेखि नै पुरुषवादी सत्ताले पुरुषहरूलाई परिवार पाल्ने वीर "मास्कुलिन" बनायो । र त्यो "मास्कुलिनिटी" मा हस्तक्षेप गर्ने नारीहरूलाई निरुत्साहित गर्न महिला मात्र होइन पुरुषहरू पनि लागे, शायद उनीहरूलाई आफ्नो "मास्कुलिनिटी" को सत्ता गुम्ने डर थियो । त्यस्ता डर छेरुवा पुरुषहरूलाई पनि स्वावलम्बी नारीहरूलाई बात लगाएर आफ्नो विवेक प्रयोग नगरी समाजमा प्रचलित "घरबाट निस्कनासाथ नारीको चरित्र भ्रष्ट हुन्छ" भन्ने बुद्धिबाट निर्देशित भएका हुँदा परावलम्बी वर्ग भित्र राख्न सकिन्छ ।
विपरीत लिङ्गी पुरुष वा महिला एक अर्काप्रति आकर्षित हुनु र जागीर खानुसँग कुनै सम्बन्ध हुँदैन । मानिस जुन परिवेशमा हुन्छ त्यही परिवेशका महिला वा पुरुषप्रति ऊ आकर्षित हुन्छ । आकर्षणका लागि जागीर नै खान जानुपर्दैन । हो जागिर खान जाँदा त्यहाँका मानिसहरू प्रति आकर्षित भइन्छ तर तरकारी किन्न जाँदा, मन्दिर जाँदा, कुनै बिहा-बर्तमनमा जाँदा वा कौसीमा घाम तापिरहेको बेला पनि त कुनै पुरुष वा महिला एक अर्काप्रति आकर्षित हुन सक्छन् भन्ने तथ्यलाई त्यो परावलम्बी वर्गले आफ्ना एकोहोरे तर्कले यति सम्म झूटो तुल्याइदियो कि जागिर खान जाने सबै महिला तिनका दृष्टिमा यौन क्रियाकलपका लागि नै हरेक दिन घरबाट जाने वेश्यासरी हुन पुगे । त्यसमाथि त्यो "मास्कुलिनिटी" को समर्थक वर्गले ती "पुरुषहरू" को इच्छा र चाकडी विना केही नहुने हौवा फैलाएर हरेक स्त्रीले "मास्कुलिन उपलब्धि" का लागि आफ्नो चरित्र दाउमा राखेकै हुनुपर्छ भन्ने भ्रम पनि फैलाए र पितृसत्तात्मक समाजले त्यो स्वीकार पनि गर्यो ।
विवेकले भन्दा आफ्ना यौनिक अङ्गले परिचालित मानिसहरूले छोरी, भान्जी, भतीजी, सुत्केरी वा नाबालिग नै नभनी बलात्कार गरे । तिनै पशुहरू हाम्रो समाजमा शिर ठड्याएर हिँड्न पाए । आफ्नै घरभित्र त्यस्ता पिशाचबाट असुरक्षित ती नारी घरभित्र जति पीडित भए ती पीडक त्यतिनै चरित्रवान भइरहे । तर आफ्नो ज्ञान र सीप प्रयोग गरेर त्यो कालकोठरीसरह घरभन्दा बाहिर स्वच्छ वातावरणमा बाँच्न चाहने नारीहरू भने व्यर्थ नै चरित्रहीनको दर्जामा दरिन पुगे ।
के यो वर्ग विभेदको एउटा नमूना होइन । ज्ञान र सीप प्रयोग गर्न नसक्ने र नचाहने वर्गले आफ्नो अस्तित्व जोगाइराख्न शब्दका एसिडहरू छ्यापेर अर्को वर्गको स्वच्छ अस्तित्वमा दाग लगाउन खोज्नु वर्गसंघर्षको उदाहरण थिएन र ? घरमै बसेर जागिर नखाने कति महिलाहरू आफ्नै नाताभित्र वा परिचितहरूसँग आकर्षित भएका छन्, घरबार बिगारेका छन तर त्यसको आधारमा गृहिणीहरू चरित्रहीन भएनन् । किनभने बिसौं शताब्दीमा कामकाजी महिलाको जनसंख्या कम थियो । तर अब कामकाजी महिलाको संख्या बढ्दै छ र यो विचार पनि क्रमशः अल्पमतमा पर्नलागेको देख्दा एक्काइसौं शताब्दीलाई धन्यवाद दिन मन लाग्छ । कार्य क्षेत्रमा तथाकथित "मास्कुलिनिटी" बाट प्रेरित वर्गसँग संघर्ष गरेर आफ्नो अस्तित्व कायम राख्न बीसौं शताब्दीका महिलाले ठूलो योगदान दिएका छन् जसका लागि आगामी पुस्ताले अवश्य पनि ऋणी हुनुपर्छ ।
मेरो जन्मभूमिको बारेमा कुरा गर्नु पर्दा आजकालको महंगी र फजुल खर्चले लोग्नेमान्छेको कमाईले मात्र घरखर्च चलाउन गाह्रो भैसकेको अवस्था छ र महिलाहरु पनि शिक्षित भएकोले आफ्नो शिपको प्रयोग गर्दै एउटा उधमी पेशामा लाग्छन र परिवार चलाउछन अनि कर्मभूमिमा धरै बर्ष अगाडी देखि ५०/५० भन्ने चलन छ,आफ्नो श्रीमती आफूभन्दा बढी योग्य छ भने पनि धक फुकालेर बयान गर्छन,कुनै पनि काम आफैमा नराम्रो होइन,कामको कदर गर्नु पर्छ भन्ने मेरो व्यक्तिगत सोच.....!!
ReplyDeleteधन्यवाद मित्र! र तपाईको विचारलाई सलाम ।
Delete