मेरो अस्तित्व

अघिको पल
अहिलेको पल
बिहान म ओछ्यानमा उठ्न अल्छी गरेर कोल्टे फेर्दाको पल
अफिस आउने हतारमा दौडिएर गाडी समाउँदाको पल
आएर कम्प्युटरमा औंलाहरू दौडाएको पल 
चियाको कप समाएर सुरुप्प पार्दाको पल
बगैंचाको फलैंचामा बसेर फोनमा मीठा कुरा गर्दाको पल
भरे सेल कसरी पकाउने भनेर साथीसँग छलफल गर्दाको पल
रेल कुर्दा सेल्फी खिचेको पल
यो पल र अघिको त्यो पल 
अब कहिल्यै फर्केर आउनेछैनन्  ।

सबै अनित्य छन्:
म रोएको त्यो पल
म हाँसेको यो पल
म ठेस लागेर लडेको पल
तीखो तीरले घोचेर म आत्तिएको पल
अनिदा रातमा छटपटिएको पल
खुशीले ननिदाएको पल
म दङ्ग परेको पल
अब फेरि फर्केर आउनेछैनन् ।

एक दिन म पनि जानेछु
तिनै पलहरूको साथ लागेर
कहिल्यै न आउने गरी
विलीन हुनेछ मेरो पनि अस्तित्व
कहिल्यै नदोहोरिने गरी
मेरो हाँसो 
मेरो रोदन
मेरो छटपटी
मेरा खुशी
मेरो रूप
सबै अनित्य छन्
सबै नाशवान् छन्
मेरो अस्तित्व जस्तै ।





Comments