यूटोपिया र जीवन


एउटा सुविधासम्पन्न घर
सुन्दर शहरका बीचमा
मनमोहक बगैँचा र करेसाबारी
स्वच्छ र सफा सडक

पैसाको सदा भाव
रोग र शोकको अत्यन्ताभाव 
सबैका बीचमा सदा समभाव

सदा मुस्कुराइरहने सुन्दर पत्नी 
छन् छन् चुरा र पाउजु बजाउँदै वर र पर गर्ने
थकित परिवारको रेख देखमा अहोरात्र लागिरहने
कुनै स्वार्थ नभएकी मायालु सेविका

पति परमेश्वर!
जतिसुकै बेला श्रीमतीको रूपमा मुग्ध
पकाएको जे पनि मीठो मानेर खाने
कल्पवृक्ष जस्ता
कमाएर ल्याउने मात्र, तर खर्च नगर्ने


आज्ञाकारी छोरा-छोरी 
पढाइ, जागीर र पहिरनदेखि बिहासम्म सबै अभिभावककै निर्णयमा गर्ने
श्रवणकुमार

दाजु-भाउज्यू, देवर-जेठाजु, नन्द-आमाजु, सासू-ससुरा, साला-साली
माया नै मायाले भरिएका
सदाबहार मायाका बोट
माया नै फल्ने
माया नै टपक्क टिप्न मिल्ने
क्वाप्प खाँदा मुखभरी रसिलो मायाको रसभरी 

आहा! कस्तो मायालु संसार
जीवनको कल्पना एउटा "यूटोपिया"

यूटोपिया कहिले साँचो भयो र ?
प्लेटोको रिपब्लिकदेखि
माओवादी जनयुद्धका बेला नेपाली जनताले कल्पेको साम्यवादी समाज सम्म
वा 
महात्मा गान्धीले कल्पना गरेको रामराज्य  
अथवा कुनै नारी वा पुरुषले सजाएको जीवनको सुंदर परिकल्पना 

विपरीतार्थक हुन् यूटोपिया र जीवन
नदीका दुई धार जस्ता
कहिल्यै एक हुन नसक्ने
यूटोपिया: गुलाबको फूल
जीवन: त्यसको चस्स घोच्ने काँढा
यूटोपिया: कमलको फूल
जीवन: त्यसको जरा गडेको दुर्गन्धित हिलो
यूटोपिया: चमेलीको सुगन्धमा भिजेको जुनेली रातमा प्रेयसीको अँगालो
जीवन: अपट्यारिलो घाममा हुरी चलेको मरुभूमि  

तर ख्वै! 
हामीले आकाशमा फूलवारी बनाउन कहिल्यै छोडेका छौं र !! 


Comments