चुनाव २०७४

दुवै हात जोडेर मान्छे पछाडि 
हुलै बाँधि आए चुनावी गफाडी ।
गरेथेँ विगतमा सँधै झूट खेती
भने माग्छु माफी सबैसङ्ग भेटी ॥

कतै छन् तराजू लिई तौलिएका
पुराना खराबी नयाँ मौलिएका ।
कतै सूर्यको रोशनी ताप्छु भन्दै 
गुहार्दै हिँडेका फगत् वृक्ष छिन्दै ॥ 

मशाल बोकिहिँड्छन् कतै हूल बाँधी 
कतै तीर ली वा हथौडा समाती ।
कतै धर्म भाकी धरौटी छ गाई  
सुनेता कुनै छन् कि ? भन्द्यौ न भाइ ॥

चुनावी छ निम्ता चुनावी छ भोज
छ धन्धा चुनावै चुनावी छ सोच । 
भरी छन् नि भित्ता सबै रङ्गिएका 
जरूरी सबै काम सँधै थन्किएका ॥

छन्द: भुजङ्गप्रयात   

Comments