सानो बोट जसै बढेर उभियो हाँगाबिँगा पालुवा
बर्खा, घाम, बतास औ हिउँद वा सुख्खा, हिलो, बालुवा ।
मौलायो जब वृक्ष त्यो दिनदिनै फुल्ने र फल्ने भयो
चौतारी सुकिलो बन्यो सुखद त्यो जम्मा हुने भो थलो ।।
छाया शीतल ताप्न खान फल लौ जम्मा भए मानिस
कन्याए पशुले शरीर उसमै आएर आनन्दित
खुट्टामाथि उचाल्छ कुक्कुर त्यहीँ मान्छे झनै के कम
आँखा छल्न सके लुकेर उसले के गर्न बाँकी भन ?
आई लात बजार्छ कोहि रिसले औजारले रोप्दछ
अर्को आउँछ नाम लेख्छ मुटुको तस्वीर नै खोप्दछ ।
मानौँ मौनव्रती महान ऋषि हो त्यो वृक्ष आमा सरी
माया धैर्य सदा बगाइरहने पीडा सही मन भरी ।।
आमा हुन् रुख झैँ अटूट ममता प्यारो छहारी दिने
दुख्दा चित्त पुनः सम्हाली रुखझैँ माया र छाया दिने ।
दिन्छिन् जन्म मरी-मरी पनि उनी सन्तानलाई तन
चाहे जत्ति दिउन् विषाद उनको थाक्दैन प्यारो मन ।।
तिन्को धैर्य त हुन्न डग्मग कसै चाहे सुनामी परोस्
झञ्झावात र भूमिकम्प जसरी कस्तै उपद्रो झरोस् ।
डोर्याई परिवारलाई सहजै लान्छिन् उनैले पर
आफ्ना सन्ततिमा अगाध ममता बाँडी नथाक्ने वर ।।
जस्तै वृक्ष दिनेछ पात फल वा छाया उखेल्दा तक
आमाको ममता रहन्छ भरिलो आमा नमर्दा तक
आमा नै नबनी बुझिन्न कहिल्यै माया अहो! दिव्य यो
के होला ममता र त्याग उपमा ? आमासरी को भयो ?
(मातृ अमावास्या २०७७ वैशाख ११) शार्दूलविक्रीडित छन्द
Comments
Post a Comment