गरुण पुराणमा भगवान् विष्णुले गरूणलाई बताएको एउटा प्रसंग छ । त्यसमा गर्भस्थ शिशुले सांसारिक जीवन-मृत्युको चक्रबाट मुक्त हुन गरेको ईश्वर-भक्ति र पछि त्यो वाचा बिर्सी सांसारिक मायाजालमा अलमलिएको भनेर वर्णन गरेको पाइन्छ । त्यसैमा आधारित भएर छन्दको अभ्यास गर्ने आजको बसिबियाँलो:
गर्भावस्था बिताएँ प्रभुसँग गरदै हात जोडेर बिन्ती
कैले दिन्छौ मकन भगवन् दुःखबाट विमुक्ति ।
भोकै प्यासै डुबेथेँ दिन र महिना, रक्त औ मूत्र बीच
कैले होला जन-मरणको चक्र यो अन्त नीच ॥
भन्थें जान्नँ म निस्किएर कहिल्यै यो गर्भ छोडी कतै
लैजाऊ भगवन् तिमीसँग उतै वैकुण्ठ लोकमा सँगै ।
जाँदा बाहिर फेरि पर्छु नि मता पाप-कर्मको जालमा
तिम्रो आश्रय देऊ केशव मलाई, राख्छु चरण भालमा ॥
दस मैना गरदै स्तवन श्री हरिको विश्वस्त भाको थिएँ
माधवका परतापले मनमनै वैकुण्ठ गाको थिएँ ।
एक्कासी घनघोर वायु-बलले ठेल्दो भयो शिरमहाँ
रोएछु भयले, सबै भुलिगएँ, भक्ति म आएँ कहाँ ॥
बिर्सी विष्णु म अल्झिएँ विषयमा, संसार-सागरमहाँ
उर्वर जीवनभर घमण्ड गरदै के धन कमाएँ कहाँ ।
भोगेँ सुख सबै परन्तु मन यो बेचैन भै बस्दछ
तेरो मेरो र कस्को भनिकन हरदम स्वार्थ नै स्वार्थ देख्छ ॥
छोड्नेभो जब शक्तिले तन अनी एक्लो भएँ फेरि लौ
अच्युतको उपदेश सम्झि पछुतो, बाँकी
रह्यो के र लौ ॥
वृद्धावस्था दुखेको,
तन-मन दिई पार्न खोज्दा पवित्र
आत्मा मेरो कठै यो प्रतिदिन गलदो खोज्दछू शान्ति भित्र ॥
Comments
Post a Comment