इच्छा


यस्तो तागतिलो हुरी हुरहुरी आई उडाई लगोस्
चिन्ता घूर-कसिङ्गरै सब टिपी मैला बढारी लगोस् ।
राग-द्वेष सखाप पार्न भरिलो आगो बलोस् देहमा
सर्वे सन्तु निरामया जप गरी मैना बितून् वर्षमा ॥

ईर्ष्याले मन जल्छ देव दिनुहोस् माया भरेको मन
तीखा तीर सरी बिझेर डसने वाणी सम्हाल्ने तन ।
मर्यादा नटुटोस् मबाट कहिले यस्तो म पाऊँ वर
मेरो धैर्य कदापि डग्मग नहोस् स्वर्गीय होओस् घर ।।
मेरा वाक्य सदा विनम्र रसना कैले नहोस् तिक्तता
ढुंगाले पनि हानिँदा मनमहाँ माया नहोस् रिक्तता ।
फूलैफूल बनून् सबै कदममा घोच्ने ती काँढा छुचा
वर्षाको अवसानमा हिउँद झैं आवास मेरो सदा ।।
माया छर्न सकूँ सबैतिर सँधै निःस्वार्थ होओस् मन
आफ्नो स्वार्थ लुटाउँदै जगतमा सेवा दिलाईकन ।
सक्दो गर्न सकूँ भलाइ जगको मैले त जे जान्दछु
केही भूल गरे नजानिकन लौ माफी प्रभो माग्दछु ।।
(शार्दूलविक्रीडित)

Comments

Post a Comment