“मैले त त्यो नखरमाउली गीताको फोटो पोस्टमा लाइक-कमेन्ट
गर्न छोडेँ बुझ्नुभयो ? घमण्डले मैमत्त
भएकी छे । मै हुँ भन्छे । म पनि किन त्यस्तालाई ठूलो मान्छे बनाउनु ।”
“ए हो र! किन त? के गरी र त्यसले तिमीलाई?”
“मलाई सीधै त केही गरेकी छैन । त्यसको त्यत्रो आँट
कहाँबाट हुनु मलाई केही गर्ने । अस्ति पवित्रासँग भेट भाको थियो बाटोमा अनि उसले
कुरा गर्दा पो म त छक्क परेँ नि ।”
“ ए हो र! के कुरा रहेछ त्यस्तो ?”
“त्यसको छोरोले इन्जिनियरिङ् पढ्न नाम निकालेर भारत जाने
भएछ । ओहो सानो कुरा गरिन रे । तिमीलाई थाहा छैन त्यसको लोग्नेको इन्डियन
एम्बेसीमा राम्रो छ रे नि ! पोहोर मैले पनि मेरो छोराको लागि कत्ति ट्राइ गरेँ ।
कतिलाई गर्दिनुहोस् न भनेर बिन्ती गरेँ । कति जानालाई बोलाएर मासुभात समेत खुवाए । खसीको मासु पो त! कम्ता महँगो छ ।
भरे रिजल्ट आउँदा आफ्नो छोराको त खोइनामै निस्केन ।”
“ए हो र! त्यसको छोराले त प्लस टुमा कलेज टप पनि गरेको
भन्ने सुनेकी थिएँ मैले ।”
“हो त्यो जाबो कलेज टपको के कुरा । जसले पनि गर्छ, त्यसकोले
मात्र गरेको छ र ? मेरो छोरोलाई राम्रो स्कूलमा राख्न नपाएर पो त । नत्र त उसले
पनि गर्थ्यो नि ! बिचाराले म्याथमा राम्रो मास्टर नपरेर ब्याक पेपर दिनुपरेको त हो
नि! नत्र त नर्सरीदेखि वानसम्म सँदै
फस्टका फस्ट आउँथ्यो मेरो छोरो ।”
“हो नि त्यसो त । यी मोरा मास्टरहरूले राम्रो पढाए पो हुन्छ
त । मेरी छोरीको पनि हेर न एकाउन्टमा ब्याक लागेको छ । अहिले घरमा केही काम छैन ।
धन्न दाइले अमेरिकाबाट पठाएको आइ फोन छ र भुलेकी छ । नत्र के गरेर दिन बिताओस्
बिचरी ।”
“ म त तिम्री छोरीलाई देख्दिनँ नि फेसबुकमा कहिले पनि ।”
“ ए लाटी! आजभोलि फेसबुक कहाँ चलाउँछन् र ठिटाठिटीले । के-के
हो अरू छन् नि । इन्स्टा, इसन्याप च्याट अरे अनि के हो वाट्स अप, खोइ के के भन्छे
। फिलिम पनि अंग्रेजी मात्रै हेर्छे । गीत पनि अंग्रेजी मात्रै । फेरि के हो गेम
खेल्ने पनि भन्छन् । म त केही बुझ्दिन हेर न ।”
“त्यै त दिदी! मलाई त यो फेसबुकमा टाइप गर्न न आएर कस्तो
गाह्रो भएको थियो । फोटो अपलोड गर्न पनि न आउने । केटाकेटीलाई गर्दे न बाबु भन्यो जहिल्यै झर्किने मात्रै । कस्तो हेपिनु परेको
थियो । यत्ति गर्न नआएनि केही गर्न नआएको जस्तो । आफ्ना साथीहरू भने दिनका दिन
प्रोफाइल पिक्चर फेर्थे । आफ्नो भने खोले देखिको त्यै थियो । अझै राम्रो आइसकेको
छैन ।”
“हो नि बहिनी । मैले पनि बल्ल बल्ल सिकेँ । अहिले त आनन्द छ
। त्यै पनि नेपालीमा लेख्न आउँदैन । मेरो आइ प्याडमा नेपाली नै लेख्न मिल्दैन
भन्छन् । ख्वै के के हो के के ।”
“हुन्देउ है दिदी, यत्ति भए पनि भाको छ । पाखे हुन त परेको
छैन ।”
“अनि सुन न! अस्ति
तिमीले त्यो सरस्वतीको स्टाटस हेर्यौ ? मैले क्या कमेन्ट लेखिदिएँ नि । त्यसलाई
ठिक्क परिदिएँ ।“
“ को सरस्वती?”
“त्यै मास्टर्नी छे नि पुष्पा । त्यसको नाम सरस्वती
राखिदेको हामीले ।”
“हाहाहाहा । हो र! के लेखेकी थिई त्यसले मैले त देखिनँ त ।”
“लौ यिनी पनि कति लाटी रैछिन् । त्यत्रो साली नदी गएर रातै
लुगा, चुरा, पोते लाएर फोटो खिचेर हालेकी थिई त । स्वस्थानीमाताको दर्शन भन्दै ।”
“ अँ अँ हो हो! मैले पनि देखेकी थिएँ । लाइक गरेँ त मैले
पनि ।”
“हो त्यही के । खुब आधुकिन हुँ, पढेलेखेकी हुँ भन्थिस्
अहिले फेला परिछस् नि । रातो लुगा लाएर साली नदी गैछस् त भनेर कमेन्ट ठोकिदिएँ लौ
जा त ।”
“ठिक गरिछौ । त्यस्तालाई त्यस्तै गरेर ठीक लाउनु पर्छ । ”
“ए लौ आज हाम्रो पनि सेल्फी खिचेर हालम न! सबै हामी भेटेको
देखेर घिटिघिटी हुन् । मैले राम्रो लुगा लाएर आकी छु आज । यो सक्रातिमा भाउज्यूले
देको सारी ।”
“ओ हो! कति राम्रो रैछ । सक्रातिमा पनि सारी । मेरो त आमा
पनि हुनुहुन्न । ती दाजुभाइको जातले के दिन्थे । जाबो उसिनेको तरुल खान पनि
बोलाएनन् । भाउज्यू बुहारीलाई आफै माइत दगुर्दैमा ठिक्क छ । तिमी त कति भाग्यमानी
।”
“हो नि! म त भाग्यमानी छु । ल है त हाँसेर यता हेर्नु । अब
म फोटो हालेर तपाईँलाई ट्याग गरिहाल्छु ।”
“ल हालिहाल त म लाइक गरिहाल्छु । तिमीले हालेको फोटोमा त
कति लाइक कमेन्ट आउँछ । मेरोमा त ख्वै आउँदै आउँदैन । हुनेखानेलाई मात्र लाइक
गर्ने होलान् मान्छेहरूले । फेसबुकमा पनि कस्तो भेदभाव हुन थाल्यो भन्या ।”
“ल हो नि! म त खरी पो छु । मेरो लाइक नगरे तिनको पनि
गर्दिनँ अनि बाध्यताले गर्छन् नि ! भेट्दा पनि म त प्वाक्क भनिहाल्छु दिदी । न
बिराउनु नडराउनु । एउटा लाइक गर्दैमा तिनका बाउको के जान्छ होइन त ? डराउने होइन
है दिदी । हेप्छन् नि !”
“त्यै त । तिमी जस्तो नडराउने हुनु पर्ने म त सोझी भएर
सबैले हेप्छन् । अब त मैले पनि धेरै सिकीसकेँ । टाइप गर्न सिकेर कमेन्ट गर्न
थालेपछि अरूले पनि बल्ल मेरोमा कमेन्ट लाइक गर्न थालेका छ्न् ।”
“लौ लौ, म गएँ । त्यो सरस्वती र त्यो इन्जिनियर भनाउँदाकी
आमा छे नि गीतेको लाइक नगर नि! गर्यौ भने
त म पनि फेरि तिम्रो गर्दिन नि! मेरो दुश्मन तिम्रो पनि दुश्मन । हामी मिल्नुपर्छ
के बुझ्यौ ? मैले भनेको मान दिदी म तिमीलाई कहाँ पुर्याइदिन्छु हेर न । तिम्रो पनि
एउटा फोटोमा कम्तीमा पनि ५०० लाइक आउन थाल्छ । ल आज म जान्छु है । बुढाले मार्छन् अफिसबाट आउने
बेला भो ।”
“आउँदै गर न है । ”
“ल ल । अहिले गएँ । अब घर गएर हेर्छु हाम्रो फोटोमा कति
लाइक पुगेछ ।”
photo: https://www.google.at/search?q=facebook&source=lnms&tbm=isch&sa=X&ved=0ahUKEwjYjpP0ltrYAhUHb1AKHRS0ABQQ_AUICigB&biw=1280&bih=827#imgrc=6eUaPi7oyyYXFM:
फेसबुकको लाइक भनेको कर्कलोको पातमा पानीलाई हिरा देख्नु सरी हो,आफ्नो छोराछोरी राम्ररी पढेर समाजमा टिकेर बस्न लायक होस् भनेर हरेक मुमाबुबाले सोच्छन तर छोराछोरीले आफ्नो बुबामुमाको मनोभाबबारे के सोच्छन ?? त्यसबारे पनि यस्तै मनोभाबयुक्त लेखको आविष्कार भए राम्रो....!!
ReplyDeleteकोशिश गर्नेछु । धन्यवाद !
Delete