हप्ताका सात दिन

घुम्टो ओढेकी नयाँ दुलहीजसरी
आउँछ आइतबार
नयाँ कपडाको मगमगी बासना
नयाँ सपना, नयाँ कल्पना र नयाँ जीवनको लगनगाँठो कसेर

सोमवार दैलो पोत्ने पोतारो, कुचो र गोबरको थुप्रोमा ब्युँझन्छ
तैपनि दुधेरोले अाशा दिलाउँछ गोरसको
दुःख गरे अनुसार खान त पाइएला नि!

एक डोको जुठो भाँडाजस्तो मंगलवार
भातका सितासरी कल्पनालाई रछ्यानमा बगाइदिन्छ
पसीना पसीना गराउँछन् डढेका भाँडाको कालो मोसोले
जति मस्काएपनि नजाने

बुधवार टंटलापुर चर्को घाममा घाँस काट्न गएकी घँसिनी
सकी नसकी अाफूभन्दा ठूलो भारीमा थिचिएर अाउँछ
स्याउला घाँस बाख्रालाई हाले गाईलाई नपुग्ने

बिहीवार ठेट्ना मकै
चपाउँदा दाँत फाट्ने
नचपाए पेट काट्ने
एक घुट्की अमिलो मोहीले अास दिलाउँछ

शुक्रबार बर्खामा भिजेका दाउराको पुत्याउने अागो
मुस्किलले धुँवारिएको ढिडो पस्कन्छ
सितन अलिकति सिस्नोको साग

शनिवार जीवनका सुन्दर सपना पेलेर निस्किएको चौंठीको तेल
सासूका गोडा मिच्दै सकिन्छ
माडिेएर मिचिएर बटारिएर दलिएर

बाहिर सूनसान रातमा
टाढाबाट अाउँदै गरेको अनजान यात्रुको पदचाप सुनेर
कुकुर एकोहोरो भुक्दै छ ।

Comments