निर्मलाको डायरी


आज स्कूलको  बस छुट्यो!

साउनको महिनामा गुम्सिएको बस बानेश्वर चोकमा घ्याच्च रोकियो
युद्धमा बन्धक बनाएर छोडिएका सैनिकहरू सरी तछाड र मछाड गर्दै यात्रुहरू ओर्लिए
हजुर आमाले थिची थिची शीशीमा हालेको अचार सरी खलासीले झ्याल-झ्यालबाट तान्दै यात्रु कोच्यो
पिपासु यात्रुहरूलाई युवतीहरूको स्पर्श-सन्तुष्टि दिलाउने ठेकेदारले जस्तो ।

परीक्षा हलमा प्रश्नपत्रको पर्खाइमा बसेको बेला
गार्ड बसेको अधबैसेले सोध्यो
"तिम्रा भाइ-बहिनी छन् ?"
मैले हाफ शर्ट लगाएको पाखुराको इशाराले भने "एउटा भर्खर यत्रो भयो"
उसले मेरो टेबुलको छेउमा टुक्रुक्क बसेर  भन्यो "फेरि हातले देखाएर भन त कत्रो भयो रे!"

परीक्षा सकिएर घर जान लाग्दा रत्नपार्कमा जुलूस आयो
सार्वजनिक सवारीको हडताल!
एकजना सहृदयी शिक्षक मोटरसाइकलमा पुर्याउन तयार भए
"दुईतिर खुट्टा राखेर बस न! मलाई केटीहरूलाई लिएर हिँड्ने बानी छैन"
...
"के भएको आज मोटरसाइकल, आफै ब्रेक लागेको लाग्यै छ "

घर पुग्दा गोरू बेच्या साइनोको काका बस्दै आउनुभएको रहेछ
"ओहो नानीको परीक्षा कस्तो भयो ?"
"राम्रो भयो काका"
"यहाँ मेरो छेऊमा बस न! देखाऊ त प्रश्न पत्र"
अँगालो मारेर कानमा खुसुक्क काकाले भने
"तिम्रा छातिमा कतै क्यान्सर भएको छ कि मलाई जाँच्न देऊ है! हेरिरहनुपर्छ"

जुरुक्क उठेर हात-गोडा धुन कौसीको धारामा गएँ
पल्लो घरको अंकल सँधै जस्तो आण्टीको आँखा छलेर नजरको भोक मेटाउन तयार बसेको रहेछ

परीक्षा सकिएको ढुक्क मन लिएर सुतें
भोलि बिहान त अबेर सम्म सुत्न पाइन्छ ।
सपनामा फेरि बसमा कोचिएकी रहेछु
अतालिएकी रहिछु
पछाडिबाट कुनै यात्रुले मलाई समातेर ठेल्दै रहेछ
बस मच्चिँदै आफ्नो गतिमा हिँड्दै थियो
म बिउँझिएँ
लौ म त ओछ्यानमा रहेछु
मेरो पछाडिका यात्रु तिनै गाउँले काका रहेछन्
"केही हुन्न, तिमी पर सरेकी छैनौ । साइन्समा पढेको होला नि तिमीले"
एक जोर बलिया हातहरू मेरो मुखतिर आए
मलाई थिचे, घाउको पीप निचोरेसरी
मेरो साँस शरीरबाट निचोरिएर आकाशमा छताछुल्ल पोखियो

मेरो हत्याको विरोध गर्ने आमा, दिदी, बहिनीहरू!
म गुह्येश्वरी हूँ
ती भोकाहरूको मुखमा
मेरो प्रसाद
तिनलाई मनपर्ने मेरा अंगहरूको कुहिएको मासु कोचिदिनुहोस् न
मेरो भड्किएको आत्मा शान्त हुन्छ कि !

photo https://fineartamerica.com/featured/pain-nesli-sisli.html




Comments