रित्तो पर्स

एक हप्ते झरीपछि भदौरे घाम चरक्क चर्केको छ । बाटोका खाल्डा-खुल्डी जलमग्न भएका छन् । सँधै झैं आज पनि बिहान साढे नौ बजेतिर बिराटनगरको झोराहाटबाट एउटा हीरो स्प्लेन्डर प्लस मोटर साइकिल आएर मूलबाटोको ढाट निरको पान पसलमा रोकियो । सेतो पाइन्ट र सेतै शर्टमा कालो कोट लगाएको एउटा अधबैंसे मानिसले मोटरसाइकलमै बसी-बसी हेल्मेट खोल्यो र ऐनामा अड्यायो ।
"अरे भाइ! आज इस्कूल न जाने ?"  उसले बाटै निरको चारवटा काठका मसिना पिलरमा सानो काठकै बाकसजस्तो  बनाएर जस्ताले छाएको एउटा मानिस मुश्किलले अटाउने पान पसलमा बसेको केटोलाई सोध्यो ।
"आज बिदा छ अंकल। तपाईंको छैन ?" केटोले फुर्तीसाथ भन्यो ।
"के को बिदा हँ ? हाम्रो बिदा छैन । सरकारी अफिस कहाँ बिदा हुन्छ ? ल एउटा पान बनाऊ छिटो । तिम्रो बुवा भए ठिक्क पारेर राख्थे । कहाँ गए ?"
"हाम्रो त बिदा छ । धेरै पानी परेर इस्कूल भित्रै पानी पसेछ! तपाईंको अफिसमा पसेन ?" ( पानी भरिएको बाटाबाट पानको पात झिक्दै केटोले भन्यो) ।  "पापा अस्पताल जानुभैराखेको छ ।"
"ए! हो र! मैले पनि त उही इस्कूलमा पढेको नि! आदर्श इस्कूल होइन? हाम्रो पालामा त पानी परेर  कहिले बिदा भएन ।" (बाल्यकाल सम्झेर ऊ एकछिन टोलायो) "किन जानुभयो तिम्रो पापा अस्पताल ? तिमी एक्लै पसलमा !"
"हाम्रो बहिनी जन्मेको आज! त्यसैले त पापा मम्मीलाई लिएर अस्पताल जानुभयो ।"
"ए! तिमीलाई बहिनीको माया लाग्छ ?"
"देखेको छैन ! आफ्नो बहिनीको लागिहाल्छ नि! (पान पोको पारेर प्लास्टिकमा राख्न खोज्छ )
"होइन होइन म अहिले नै खान्छु ।" हातमा पान लिएर मुख आँ गरेर युवराजले देब्रे गालामा पान अड्यायो र मोटरसाइकिलको हेण्डलको बीचमा कोचेको रुमालले हात पुछिसकेर पछाडिको खल्तीबाट पर्स निकाल्यो । युवराज सँधै सतर्क रहन्छ लुगामा कतै दाग लागिहाल्छ कि भनेर । उसलाई आफ्नो वकालतको पेशा,  सेतो पोशाक र आफ्नो इमन्दारीमा गर्व छ । ऊ सँधै धोएको सेतो शर्ट, कालो पाइन्ट र कालै कोट लगाएर हरेक दिन बिराटनगर जिल्ला अदालत जान्छ । ऊसँग चारवटा सेता शर्ट छन् । आज लगाएको भोलि लगाउँदैन । घर निरैको धोबीले उसका सेता शर्ट धोएर इस्त्री गरेर राखिदिन्छ । त्यसका लागि खर्च गर्न ऊ डराउँदैन । उसलाई आफ्नो इज्जत बडो प्यारो छ । अरू कुराले भलै उसलाई दुःख होस् तर पोशाक लगाउने कुरामा ऊ आफूलाई युवराज नै ठान्छ ।

युवराजले पर्स खोलेर हेर्यो । उसको सातो गयो । शिरदेखि पाउसम्म एउटा अचम्मको हुरी उसभित्र चल्यो । उसका आँखा अगाडि अँध्यारो भयो । उसले मोटरसाइकिलको दुईतिर टिलिक्क टल्केका कालो जुत्ता भित्रका  दुई पैतालालाई अझ  बल गरेर जमीनमा गाड्यो ।  बिहान मात्रै एउटा पाँच सय र अरू खुद्रा पैसा भएको पर्स कसरी खाली भयो ? मुखभित्र भर्खरै चपाउन शुरू गरेको पान थुक्नु न ओकल्नु भयो उसलाई। अब के गर्ने !
"अंकल के भयो ? एउटा पानको १५  रुपैंया मात्र हो ।"
युवराज झसंग भयो ।
"हो मलाई थाहा छ ।" त्यस पछि अगाडि के भन्ने? ऊ अवाक् भयो । युवराजलाई मरेतुल्य भयो  । अब यो सानो केटोलाई कसरी सम्झाउने ? कुन मुखले उसले १५ रुपैंयाका लागि ऊसँग लज्जित हुने ? तैपनि उसले साहस बटुलेर भन्यो:
"हेर बाबु! मेरो पर्समा पैसा थियो, थाहा छैन कसले झिकिदिएछ ? मसँग अहिले १५ रुपैँया छैन । म तिमीलाई भरे  फर्कँदा दिन्छु है !"
"हुन्न, पापाले मलाई गाली गर्नुहुन्छ । मैले पान बेचेर पैसा चोरेको भन्नु हुन्छ । नाईँ मैले पापालाई के भन्ने ? उहाँले पानको पत्ता गनेर जानुभएको छ ।"
केटो रुन थाल्यो । युवराजलाई त्यो केटोको बाध्यतापूर्ण रुवाइले आफ्नो हीनताबोधलाई अझ बढी गिज्याएको जस्तो लाग्यो । एक्कासि उसको मनमा एउटा उपाय फुर्यो ।  उसके फकाउँदै भन्यो, "हेर बाबु, तिमी मेरो मोबाइल राख । कि यो घडी राख ।  पापाले गाली गर्नुभयो भने यो देखाउनु । म भरे तिमीलाई पैसा दिएर यो  लान्छु ।" सुक्क सुक्क गर्दै रुँदै गरेको केटो शान्त भयो । केटोको लागि घडी भन्दापनि मोबाइल आकर्षक थियो । किनभने उसले देखेको थियो, अलि ठूला र पैसा भएका दाइहरूले मोबाइलमा गेम खेलेको । उसलाई पनि रहर लाग्थ्यो । परैबाट उसले मोबाइलमा गेम खेलेको हेरेको थियो । तर छुन पाएको थिएन । दंग पर्यो ।
"अंकल गेम खेल्न मिल्छ ?"
"मिल्छ तर एकछिन मात्र खेल है । ब्याट्री सकिन लागेको छ त्यसपछि राखिदेऊ है ।"
"हस् ।"

केटो दङ्ग पर्दै मोबाइल हातमा लिएर मुसार्न थाल्यो । भर्खर उदाएको सूर्यको प्रकाश परेको हिमालको चुचुरो चम्केजस्तो उसको अनुहार धपक्क बल्यो ।

युवराज गरुङ्गो मन पारी मोटर साइकिल स्टार्ट गरेर जिल्ला अदालततिर लाग्यो । पुराना कुराहरू एकपछि अर्को उसका मनमा आएर झकझकाउन थाले । उसलाई थाहा छ यो काम उसको घरमा उसकी धर्मपत्नी मायाले नै गरेकी हो । यो केटोको अघि मात्र होइन ऊ कति पटक धेरै मानिसका अगाडि लज्जित भएको छ । कति पटक माफी मागेको छ, र आफ्नै श्रीमतीले चोरेको पैसा तिरेको पनि छ । उसको आफ्नै पैसा चोरेको पनि उसलाई थाहा छ । श्रीमतीले उसको पर्सबाट पैसा निकालेको कुरामा उसलाई कुनै आपत्ति छैन । उसका मनमा तर्कना एकपछि अर्को आउँदै गए ।... निकालोस् तर भनेर निकालोस्  न। मागे पनि म दिहाल्छु । अर्काको पैसा चोर्ने  र आफ्नै घरमा चोरले जस्तो पैसा निकाल्ने अनि आफूले होइन भन्ने उसको बानीबाट म आजित भैसकें । बिहामा बनाइदिएका गहना पनि सबै हरायो भन्छे । आफ्नै श्रीमतीको यस्तो बानी । भन्न पनि कसलाई  भनूँ ? बिहा गरेको २७ बर्स भयो । २४ बर्सकी  छोरी भैसकी । आउँदो माघमा  बिहे छ । भाग्यले राम्रो केटा पाइएको छ ।  बोर्डर पारिको एउटा पुलिस इन्स्पेक्टरसँग बिहा छिनिएको छ । तिलक, दाइजो, बिहाको सबै खर्च गरी अबको चार महिनामा  कम्तीमा पनि पन्ध्र लाख जम्मा गरिसक्नु पर्नेछ । दाइजोमा सुन, मोटरसाइकिल, वाशिंग मेशीन, फ्रीज, टीभी, जन्तीको खानपान, मण्डपको सजावट, ढोगभेट ओहो । आफ्नै दाजु लमी भएर के गर्ने, कत्रो लामो लिस्ट दिनुभएको छ । कसरी जम्मा गर्ने त्यति धेरै पैसा । बैंकमा जम्माजम्मी तीन लाख बीस हजार छ । भर्खरै पास बुकमा लेखाएर ल्याएको । गएको हप्ता  प्रेमीसँग मिलेर पतिको हत्याको त्यो पुरानो केस जितेको चालीस हजार पाएको जोड्दा तीन लाख साठी हजार हुन्थ्यो । पाँच बजिसकेको हुँदा बैंकमा राख्न नभ्याएर सँधै आफूले बोक्ने ब्यागमा घरैमा ताल्चा लगाएर राखेको त ब्यागको ताल्चा झुण्डिएकै अवस्थामा भित्रबाट दस हजार गायब । घरमा सोध्दा पहिला कसैले हो भनेनन् । धेरै केर-कार गरेपछि छोरीले भनी आमाले पाँच हजार निकालेको देखेर मैले पनि  तीन हजार र दादाले दुई हजार निकालेको । आफ्नै छोरीको बिहाको लागि जम्मा गरेको पैसा चोर्ने कस्ती आमा होली! बिहा हुन लागेकी छोरीको पनि त्यस्तो बानी! हरे शिव के होला !...

युवराजका आँखा भरिए । जीऊ थरथरी काम्यो । हुनेवाला ज्वाईँ र सम्धी, माया, छोरी, दाजु सबैको अनुहार एकैपटक सम्झ्यो । मुद्दा मिलाएर अपराधीलाई सजाय दिलाउने युवराज बिचरो आफ्नै घरभित्रको चोरलाई सजाय दिलाउन सक्दैन । अदालतमा ठुल्ठुला बहस गरेपनि ऊ परिवारको मुद्दामा सँधै हार्छ ।

जिल्ला अदालत पुग्नै लाग्दा देवकोटा मार्गमा एउटा कुकुरले एक्कासि बाटो काट्यो । युवराजले हतार हतार हात र खुट्टाले ब्रेक लगायो । एउटा अचम्मको आवाज आयो क्वाsssss ढ्याम्म।  युवराजको मोटर साइकिलको हैण्डल नियन्त्रण बाहिर पुग्यो र मोटर साइकिल  बाङ्गिएर बाटो छेउको बिजुलीको पोलमा गएर ठोक्कियो । वरिपरि मानिसहरू आएर झुम्मिए । नजिकै कोशी अस्पतालबाट एकजना निस्किँदै थियो  । मानिसहरूले भने  "ए भैया, यो मान्छेलाई बोकेर इमर्जेन्सीमा लगिदेऊ न!"  ती  सज्जनले घाइतेलाई हेलमेटै सहित जुरुक्क बोकेर अस्पतालको आकस्मिक कक्षमा  पुर्याए । तर को हो ? नाम के हो ? आफन्तलाई कहाँ सम्पर्क गर्ने! मोबाइल छ कि भनेर छामछुम गरे । बिरामी बेहोश छ  । खल्ती रित्तो छ ।  यसो हेलमेट उघारेर मुख हेर्नासाथ उनी कराए  "हाय दैया, वकील साब!" यी त तिनै  सँधै  बिहान उसको पसलमा पान खान आउने वकील रहेछन् । पान पसलेले चिनिहाले । अहिले पनि मुखमा पान रहेछ ।

photo: https://www.google.at/search?biw=1280&bih=823&tbm=isch&sa=1&ei=tnd9W6fwM4PfwQK5g7jYCQ&q=a+man+in+bike+in+India+skech&oq=a+man+in+bike+in+India+skech&gs_l=img.3...15155.16550.0.17495.6.6.0.0.0.0.71.371.6.6.0....0...1c.1.64.img..0.0.0....0.KrraPnG5CAk#imgrc=Q_6NTN4Sqna71M:

Comments