मेरो भागमा सुख्खा पाउरोटी (तीज गीत २०१८)


१.   खोलै सुक्यो अस्ट्रियामा यसपालिको धूपले
कर्म खोटो के गर्नु र राम्रो रूपले 
देशै छोडी बिरानो यो मुलुकमा आइयो
आफ्नो कर्म जस्तो थियो सँगै ल्याइयो 

२.   रेलै गुड्यो भियनामा लीकै लीक सरर
तीज आयो दुखी मन रुन्छ धरर
बाटो हिंड्दा गुटेन मोर्गेन* भन्ने त धेरै छन्
मन मिल्ने साथी-सँगी गाउँमै छुटेछन्

३.   हिउँले ढाक्यो डाँडा काँडा सेतै भयो पखेरो
रात हो कि दिन हो कि सँधै अँधेरो  
साँझ बिहान जहिले पनि कामैको चटारो
के गर्नु र भाग्यले नै हान्यो झटारो

४.    माइती गाउँमा पाक्यो होला मीठो मीठो सेलरोटी
मेरो भागमा पार्यौ दैव सुक्खा पाउरोटी
मनको बह पोखूँ भने कसले सुनिदेला नि!
         छोराछोरी बुझ्ने होइनन् आफ्नै भाषा नि !

५.   यूरो साटे धेरै आउँछ नेपाली रूपियाँ
औंला गनी कमाई सोध्छ पापी दुनिया
बुझ्थिन् क्यारे मर्म मेरो जन्मदिने आमाले
सात यूरो एक घण्टाको हुन्छ धामाले

६.   जर्मन सिक्न उस्तै दु:ख कति बग्यो पसीना
बुढेस-कालमा पढ्नु पर्यो अक्षर मसीना  
कति घोक्नु der die das** रातै भरि रटेर
कैले जानु मेरी आमा बे आइन्स*** कटेर 

७.   खोलै सुक्यो अस्ट्रियामा यसपालिको धूपले
कर्म खोटो के गर्नु राम्रो रूपले 
देशै छोडी बिरानो यो मुलुकमा आइयो
आफ्नो कर्म जस्तो थियो सँगै ल्याइयो 

शब्दकोष
*गुटेन मोर्गेन: Good morning 
**der die das: German articles 
***बे आइन्स: German language B1 level


Comments