मेरो दुश्मनलाई सलाम!


ती मेरा दुश्मन होइनन्
फ्यान हुन्
जुनसुकै बेला मलाई सम्झिरहन्छन्
म नामुद भएको छु तिनकै अथक परिश्रमले
घरटोल सबैतिर मै छु विना श्रमले
त्यसैले मेरा दुश्मन तिमीलाई सलाम!

ती मेरा दुश्मन होइनन्
मेरा छाया हुन्
हर बखत मलाई नै पछ्याइरहन्छन्
बगलीमा लुकाएर छुरा
मेरै गल्लीमा ती डुलिरहन्छन्
तिनका आँखा मेरै घरका वरिपरि घुमिरहन्छन्
मेरा हर क्रियाकलाप नियाली रहन्छन्
अनि जम्का भेटमा कठै
दुई हात हरदम जोडिरहन्छन्
त्यसैले मेरा दुश्मन तिमीलाई सलाम!

ती मेरा दुश्मन होइनन्,
गुरू हुन्
मलाई जिन्दगीको असल पाठ पढाइरहन्छन्
मलाई संसार चिनाइरहन्छन्
सुखमा होस् या दुःखमा
ती मेरै जगल्टा समाइरहन्छन्
त्यसैले मेरा दुश्मन तिमीलाई सलाम!

मेरा दुश्मन होइनन्
ती त भक्त हुन्
हेर्नुस् त मेरै नाम दिन-रात जपिरहन्छन्
बाटो-घाटो होस् या  सभा समारोह
ती हरदम मेरै कुरा कोट्ट्याइरहन्छन्
बाडुली लाग्छ मलाई नरोकिई
अनि पो झस्कन्छु म
ए आज  मेरै विषयमा कोठे कार्यशाला भएछ!
त्यसैले मेरा दुश्मन तिमीलाई सलाम!

यति धेरै माया त मलाई
प्रेमीले पनि गर्दैन होला
राधाले पनि कृष्णलाई सम्झिनन् होला
बिपनामा मात्र होइन सपनामा पनि मलाई नभुल्ने
ए मेरा प्रिय शत्रु
युधिष्ठिरका दुर्योधन
अनि
रामका रावण
तिमीलाई मेरो कोटि-कोटि प्रणाम!!!

Comments