सबैले भने माया-पिरती भनेको नचाहिँदो कुरा हो
फस्लास् है होस् गरेस् नि!
दुःख पाउलास्!
बिग्रलास्!
त्यै पनि के गर्नु र!
रातभरि करायो दक्षिणा हरायो ।
परी त हाल्यो!
रातको निद्रा र दिनको भोक हरायो
पढ्न-लेख्न पटक्कै मन नहुने
जे गर्दा पनि झर्कै मात्र लाग्ने
आफू यहाँ छ मन भने कहाँ कहाँ
कहिले काहिँ त आफैलाई लाग्न थाल्यो
म त सँच्चिकै बिग्रेँ कि क्या हो गाँठे !
नत्र त म काम लाग्ने पो थिएँ बाई!
के भो त!
लभै गरेको त हो! अपराध त होइन नि!
बाबूले किन्देको कापीभरी उसको चित्र कोरेको त हो!
उसको नामै लेख्या त हो!
आमाले पैसा जोगाएर किन्देको मोबाइलमा
रात भरि च्याटै गरेको र दिनभरि सपना देखेको त हो!
मोबाइलमा मस्त भएर कलंकी नओर्लेर थानकोट पुगेको त हो!
उसको लागि चिटिक्क परेर हिँडेको त हो!
गाँजा-भाँग खाएको छैन!
रक्सी खाएर बाटोमा लडेको होइन!
उसैको यादमा हराएको मात्र त हो!
पैसा उडायो रे!
उससँग च्याट गर्न मोबाइल रिचार्ज गरेको नि!
चुरोटको धूँवा उडाएको होइन क्यार!
प्रेममा फँसेँ त के भयो?
चोर, ठग, लुच्चा-लफङ्गा त भएको छैन!
बरू आफै मायामा पल-पल मरेको छु
ज्यानमारा भएको छैन ।
लभमा नपरेको भए के थाहा!
अझ खत्तम पो हुने थिएँ कि!
आज म जे जस्तो छु त्यस्तो त पक्कै हुने थिइनँ!
कमसे कम मान्छे भनाउन लायक त भएको छु ।
(राहुल राजेशको कविता “प्रेम-वेम फालतू चीज़ है” बाट प्रेरित)
Comments
Post a Comment