मेरो सारीका रंगीन पट्टीहरू


मायाको सीयोमा आत्मीयताको धागो उनेर
जीवनभर गाँस्दै गएँ सम्बन्धहरू
आफू जन्मदा नै साथ ल्याएको मेरो रंगहीन सारीभरी
थपिँदै गए अनगिन्ती रंगीन पट्टीहरू

कहिले उध्रिए
कहिले च्यातिए
कहिले खुइलिए
कहिले मक्किए ती गाँसहरू मेरो सारीमा
तिनलाई फेरि जतनले सिउँदै गएँ
कतै सुर्के, तुरपाई, कच्ची वा स्थायी टाँका लगाउँदै
ती सम्बन्धहरूलाई सकेसम्म जतन गरेँ

पटक पटक खुइलिने केही पट्टीहरू
टाल्दा-टाल्दा  कुनै ठाउँमा मेरो सारी नै च्यातिएछ
धुजा धुजा भएछ
अब सिलाउने ठाउँनै नभई
कमजोर भएछ

ती गाँस र पट्टीहरूको भारले मेरो सारी बोकिनसक्नु भएको छ
कहिले काहिँ  त म सारी लाउनै नसक्ने हुन्छु
कुनै समय सारीमा हिल लाएर नाच्न पनि सकिन्थ्यो
तर अब
त्यसै सारीको भारले कहिले काहिँ मलाई उठ्नै नसक्ने गरी थेचार्छ

कहिले कुनै टालो असमयमा उध्रिदिन्छ
म लाजले भुतुक्क हुन्छु
हातले छोपेर पनि मेरो लाज छोपिन्न

ती टालाहरू कहिले काहिँ मलाई एक्कासि बिझाउँछन्
बाहिर चहकिला ती टाला
भित्र-भित्रै मलाई पिल्साउँछन्
तिनले खोस्रेको मेरो शरीरभरि बसेका  उस्तै रंगीन राता, हरिया र नीला  डामहरू म कसैलाई देखाउन सक्दिनँ

कुनै पट्टी कोमल छन्
हजुर आमाले म जन्मिँदा दिएको धोतीको थाङ्ना जस्तो
कति नरम
तिनको काखमा निदाउन पाउँदा आनन्द आउँछ

कति रहरले गाँसेका ती पट्टी
कति करले गाँसिएका
कति अनजानमै सिलाइएका त
कति जानेरै गासिँएका

रंगीन र चहकिला ती  सबै टालाहरू मलाई मनपर्छन्
सबै मेरा प्रिय छन्
ती कहिल्यै छुट्नेछैनन् मबाट
म रहे सम्म  ती रहिरहनेछन्
डोब नै बनेर किन नहोस्
ती मेरा अभिन्न हुन्

त्यै पनि प्रश्न गर्न मनलाग्छ कहिले काहिँ
के ती टालाहरूले पनि मेरो सारीलाई साँच्चि मनपराउँदा हुन् ?


Comments