के फेरियो र तिमी गएपछि

तिमी छोडेर गयौ
एक्लै हरायौ
अदृश्य भयौ
ख्वै तिमी गएपछि के फेरिएको छ र ?
घाम हरेक दिन उसैगरी  उदाएकै छ
जून हरेक बिहान अस्ताएकै छ
फूल फुलेकै छन्
सडकमा हरेक दिन झैं तरकारी किन्नेहरूको भीड लागेकै छ
चाड-पर्व सदा झैं आए-गएकै छन्
आज पनि हरेक बिहान नौ बजे कार्यालयको ढोका खुल्छ र पाँच बजे बन्द हुन्छ
तिमीले किनेको केतलीमा हरेक दिन चियाको पानी उम्लन्छ
र उसैगरी रित्तिन्छ 
तिमी नभएपनि मन्दिरमा हरेक दिन घंट बजेकै छ आरती गाइएकै छ
केही पनि त फेरिेएको छैन
सबै  उस्तै छ
सबै  उस्तै छौं
सबै हाँसेकै छन्
म पनि सबैसँग हाँसेकै छु ।

त्यैपनि
केही त पक्कै फेरिएको होला
हरेक दिन तिमी र हामी बीचको दूरी घट्दै गएको छ
त्यो नदेखिने दूरी
थाहा नपाइने परिवर्तन
गन्न नसकिने हाम्रो जीवनको दिनगन्ति
हरेक दिन घट्दो छ
यत्ति नै हो तिमीले छोडेर गएपछि फेरिेएको
नत्र त
सबै  उस्तै छ
सबै  उस्तै छौं
सबै हाँसेकै छन्
म पनि सबैसँग हाँसेकै छु ।


photo: http://www.theinspirationallifestyle.com/but-what-if-its-out-of-my-league-the-kaizen-approach-to-planning/

Comments