रेमकला हो उनको नाम ।
सूर्यले आशाका किरणहरू फिँजाएर
आकाशलाई रातो माटोले लिपेपछि र
बिहान चराहरूले चिरबिरे स्वरमा मंगलधुन गाएपछि
हरेक दिन बिउँझिन्छिन् उनी ।
उनको पहिलो काम
हातमा कुचो समाएर कसिंगर लगाउनु,
भय, आशंका, अवरोध र बन्धनलाई कुना-काप्चाबाट खोजी-खोजी निकाल्नु,
अनि साबुनले सङ्कोच र द्विविधालाई माडी-माडी नुहाउनु,
धोई पखाली गर्नु टाउकोबाट पानी खन्याएर हिचकिचाहटलाई ।
सुकिलो आत्मविश्वासको धोती बेरेर कम्मरमा
रेमकला भान्सामा जान्छिन्
दुधेरोबाट खन्याउँछिन् भाँडामा रहरहरू
चियापत्ती, बेसार र रातो खुर्सानीको रंगमा रंगिदै
भुल्भुली उम्लन्छन् उनका योजना र इच्छाहरू
उनको पसीनालाई जिब्रो पड्काउँदै स्वाद मानेर निल्छन्
पिर्कामा पलेटी कसेकाहरू ।
कसैले चर्को, पीरो र अमिलोको बात लगाउँछन्,
कोही भन्छ डढेछ, नत्र त मीठो हुन्थ्यो
अलि खुँडिएछ
अलि भर्सिएनछ
अलि कचल्टिएछ
अर्कोले उपसंहारमा मसिनो स्वरमा बोल्छ: यत्तिकोलाई मिठै भनिदिउँ न!
ती तीता आक्षेपहरू रछ्यानमा फ्याँकेर
भाँडा मस्काउँदै गर्दा
आफ्ना हातका रेखाहरू हेर्न मनलाग्छ रेमकलालाई
मस्को पन्छ्याएर हेरिन् उनले
भाग्य रेखा त कतै नबाँङ्गी सीधै माथि उक्लेको छ
माइती घरको आँटीमा उक्लने सोझो लिस्नो जस्तो
तर उनलाई भाग्यले त्यो मायालु आँटीमा अझै पुर्याएको छैन ।
टन्टलापुर घाममा चरक्क चर्केको वितृष्णामा
सम्भावनाको दलिनमा ओत लागेर
रेमकलाले चामलबाट कैयौँ घुन, चिलसा, ढुंगा र धान टिपेर मिल्काइन्
बलियो गाँठो कसिन् आत्मविश्वासको
अस्ताउँदो सूर्य जस्तै भोलि उदाउने आशामा ।
साँझको बत्ती बालेर देवस्थलमा
त्यसै मधुरो प्रकाशमा
रेमकलाले आफ्नी स्वर्गीय सासूको धमिलिएको फोटोमा पुलुक्क हेरिन्
ख्वै के सोचिन् कुन्नि!
कसौँडीमा फेरि पाक्यो
माया, प्रेम, दया र सहनशीलताको पक्वान्न
सदा झैँ
फेरि माजिए भाँडा
रछ्यानमा उसैगरी थुप्रिए आक्षेपहरू ।
रातको दोस्रो प्रहरमा थाकेकी रेमकलाले
खुइय्य गर्दै
सबै रहर र इच्छाहरू तह मिलाएर पट्याइन्
तिनलाई सुम्सुम्याएर सिरानीमा राखिन्
तिनै रहरमा टाउको अड्याएर
मीठो निदाइन् ।
सदा झैँ
आज पनि जानेछिन् रेमकला
उनको त्यसै सपनाको देशमा
त्यसै कल्पनाको भेषमा
त्यसै स्वतन्त्रताको लेकमा
अनि मायालु बेँसीमा
जहाँबाट उनले सदा झैँ भोलिको लागि
एक डोको जाँगर र उत्साहको भारी पुर्याउनुपर्नेछ ।
photo: Deutsch-Nepalische Hilfgemeinschaft e.V.
Comments
Post a Comment