पञ्चेबाजालाई अघि लाएर
झ्याँइकुटी-झ्याँइको तालमा आए रे
ऊ परबाट
एक लस्कर जन्ती
मैले सकीनसकी
गोडाका बुढी औँलाले मात्र टेकेर
अग्लो आँखीझ्यालको तल्लो लहरका दुलामा
आफ्ना एक जोर आँखा पुर्याएँ
तिनलाई तनक्क तन्काएर परसम्म हेरेँ
दौरा-सुरवालमा ठाँट्टिएर बुर्लुक-बुर्लुक उफ्रँदै आएको मेरो सानो दुलहा
मजस्तै सानै रहेछ ।
त्यो दिन म पुरिएकी थिएँ शिरदेखि पाउसम्म रातो रङले
भित्र-भित्र डर, लाज र संकोचले
मेरो रातो रगत उम्लन्थ्यो
अनि राताम्मे भएको थियो मेरो सुकुमार शरीर पनि ।
एक्कासि अर्को दिन डरलाग्दा काकी र सासूहरू आए
खेतको आलीमा भाँडाकुटी खेल्दै थिएँ
मलाई पखुरामा च्याप्प समाएर लगे
म खेल्न नपाएर चिच्याइ-चिच्याई रोएँ
रूँदै गरेकी मलाई
उनीहरूले पधेँरातिर लगे
एउटा ठूलो ढुङ्गामा बसाए
म रूँदै थिएँ अनवरत सुँक्क-सुँक्क गर्दै
काकीले भनिन्: रून दे, यसको रुने नै भाग्य रहेछ!
एउटा चुच्चो ढुँगाले हानेर उनीहरूले
मेरा राता-हरिया र पहेँला चुराहरू फुटाइदिए
मेरो सिउँदोबाट रातो सिन्दूर पखालिदिए
गाग्रीबाट चीसो पानी मेरो टाउकोमा खन्याइदिँदा
उनीहरूले मेरो अनुहारको लालिमा पनि पखालिदिए
म सेतै भएँ
भित्र र बाहिरबाट पनि
भावहीन अनि रंगहीन
साँझसम्म पनि जान नपाउँदा
रंगहीन आँसुको पोखरीमा डुबेँ म
मलाई चुराको भन्दा पनि
त्यो सिन्दूरको भन्दा पनि
आफ्ना रंगीन भाँडाकुटीको माया थियो ।
एक दिन
एकादेशबाट उफ्रँदै आउने त्यसले
हरेक रङमा रमाउने मलाई
मेरो इन्द्रधनुषी जीवनलाई
राताम्मे बनाइदियो !
रगतपिच्छे गराइदियो
अर्को दिन
फेरि एक हूल आएर
मलाई लतारी लतारी
रङहीन हुनेगरी पखाले
आज म कुनै रङ नभएको सेतो कात्रोमा बेरिएकी छु
रातोसँग मलाई अब डर लाग्छ!
मान्छेहरूसँग अब मलाई भय लाग्छ!
कुनै मान्छेले होइन
प्रकृतिले मलाई दिएको
मेरो शरीरबाट बग्ने रातो रगत पनि
म हतार-हतार
म त्यसै रङहीन र स्वादहीन पानीले घोटी-घोटी पखाल्छु
घाउ दुखेको भन्दा बढी पीडा
समाजले त्यो रङ देखेपछि हुने बङ्गारा-बझाइले हुन्छ ।
मलाई अब रङहरूसँग डर लाग्न थालेको छ!
के थाहा तिनीहरूसँगै नारिएर कस्ता भवितव्य आउनेहोलान्!
फागु खेल्न सिंहदरबारबाट नासल चोकमा थुप्रिएका फगुवाहरूलाई
सिंहासनबाट फागु खेल्न बसन्तपुरको डबलीमा ओर्लेका हल्लाखोरहरूलाई
आज फागु पुर्नेमा
एउटा प्रश्न सोध्न मन लागेको छ
छिँडीको एउटा कुनामा
परालको थुप्रोमा थेचारिएको अशक्त मेरो शरीरबाट
अनायासै निस्कन्छ मसिनो स्वर
"मलाई आफूखुशी रङ रोज्ने अधिकार छैन ?"
तर कठै
कसैको कानसम्म पुग्न नपाई मेरो निरीह स्वर आकाशतिर लम्कन्छ ।
photo: Deutsch-Nepalische Hilfgemeinschaft e.V.
Comments
Post a Comment