वसंत वियोग


लामो पट्यारिलो हिउँदपछि
आरूका फूल फुले
लटरम्म हाँगैभरि
त्यो टिपेर सिउरिदिने  तिमी छैनौ
हेरेर मेरो रूप, बखान गरिदिने तिमी छैनौ!

ऋतुराज आएको संकेत पाएर
फुरुङ्ग परेका चराहरू चिरबिर गर्दै
एकाबिहानै मलाई उठाउन आउन थालिसके
म अटेरी भएर आँखा नखोली पल्टन्छु
आँखा खोलेर हेर्नलाई तिमी छैनौ ।

नलिनीको बगैँचासरी तिम्रो-हाम्रो साथ
तिम्रो सुवासमा बाँच्न नपाइ ओइलाइगयो

आँपका मंजरी लागेका रूखहरू
पट-मंजरीको तालमा लहलहाउँछन्
साँझ खटियामा पल्टिएर
तिनको आनन्द लिने तिमी छैनौ

हामी बीचको यो असाध्य खोला नाघ्न कुनै पुल छैन
तिमी भएको देशमा पुग्ने कुनै दूत छैन
उडेर गगनमा तिमीछेउ संदेश पुर्याउने कुनै चरो छैन

कहाँ पाऊँ कालिदासको मेघदूत
कहाँ पाऊँ म पुल हालिदिने सुग्रीव-सेना
कहाँ पाऊँ म पिकदूत पठाइदिने मोति
टुलुटुलु वसन्तलाई हेरिरहनु बाहेक मसँग अरू उपाय छैन!

शब्दार्थ:
ऋतुराज: वसन्त
नलिनी: Tulip
मंजरी: आँपका फूल
खटिया:  डोरीले बुनेको खाट
पट-मंजरी: वसंत ऋतुमा आधा रातमा गाइने राग

Comments