मेरो शेष जीवन


Image may contain: flower, sky, plant, nature and outdoor

आज बिदाको दिन
मैले फुरसतमा नियालेर हेरें  ऐनामा आफूलाई
फाट्टफुट्ट फुलेका केश
चाउरिन तम्तयार भएको छाला
अनि थपिएका राता कोठीहरू ।

म औँला भाँचेर गन्न बसेँ मेरो उमेर
मैले बाँचेका बर्षहरू भन्दा
अब बाँच्न बाँकी बर्षहरू कम हुँदै रहेछन्  ।

मैले बाल्यकालकी त्यो सानी केटीलाई सम्झेँ
आर्य समाजको साप्ताहिक हवनपछि पाएको एक बट्टा मोतीचूरको लड्डू
कसरी ऊ अग्लो पेटीमा बसेर खुट्टा हल्लाउँदै
हतार-हतार दंग पर्दै खान्थी
एकपछि अर्को कपाकप
मानौँ संसारको दिव्य सुख नै त्यही हो!!

मोतीचूरको लड्डूको स्वाद भन्दा पनि
लड्डू खान पाएको रमाइलो थियो  उसका लागि
न त कसैसँग बाँड्नु पर्ने
न त कसैसँग माग्नु नै पर्ने
बट्टाभरी लड्डू !
आहा कति रमाइलो!
त्यो हवन भन्दा पनि त्यसपछि खान पाइने मिठाई नै हुन्थ्यो उसका लागि हरेक आइतवारको आकर्षण!!

जब मिठाई सकिँदै जान्थ्यो
उसको खाने गति पनि मन्द हुँदै जान्थ्यो
अनि बल्ल ऊ हरेक गाँसमा स्वाद खोज्न थाल्थी
हरेक गाँसमा मिठास चाख्न लाग्थी
देशी घीको बासना
मोतीचूरका हरेक मोतीको कोमलता
चासनीको मिठास
अब ऊ लड्डू टोकेर होइन
हातले बिस्तारै भाँचेर हेर्थी
कसरी ती साना मोतीचूरका गेडीहरूलाई
चासनीले लपक्क टाँसेको हुन्थ्यो
अनि ऊ जतनले मुखमा हाल्थी थौरै
त्यो सानो गाँस मुखमा कसरी बिलाउँथ्यो
मुखभित्र मिठासको काउकुती लाग्थ्यो
मुखभित्र माथिपट्टि तालुमा जमेको घिऊ लपक्क टाँसिन्थ्यो
बल्ल आउँथ्यो  उसलाई लड्डू खानुको स्वर्गीय आनन्द !!
लड्डू खाइसकेर बट्टाको चेप चेपमा लुकेका दाना चोर औँलाले टिपेर खाँदा: अहा त्यो अनुपम स्वाद!

मेरो  उमेर पनि बट्टामा सकिन लागेका तिनै मोतीचूरका लड्डू झैँ भएछन्
र म फेरि बाल्यकालकी त्यही केटी
जसलाई म स्वाद मानी मानी जिउन चाहन्छु ।

अब मसँग ती समारोहहरूका लागि समय छैन
जहाँ, लुगा, गहना, ओहोदा, पद, प्रतिष्ठा, हैसियत, ऊँच-नीच र सम्पत्तिका बहस हुन्छन्
को ठूलो र को सानो, को सफल र को असफलका चर्चा हुन्छन्
किनभने मैले अब बुझिसकेँ जीवनमा तिनको कुनै अर्थ रहेनछ

अब ममा त्यस्ता मानिसहरूलाई सहने क्षमता पनि रहेन
जो उमेरले वयस्क भए पनि अझै हुर्केका छैनन् ।
 
अब मसँग त्यति धेरै समय कहाँ छ र!
म त परमानन्दको खोजीमा छु
मलाई हतार छ
किनभने मसँग बट्टामा अब धेरै लड्डू बाँकी छैनन्
म हरेक पल
हरेक क्षण
रमाउन चाहन्छु
मोतीचूरको लड्डूका हरेक मोतीको स्वाद लिए जस्तै
म पल पल रमाएर जिउन चाहन्छु ।

निहुँ खोजुवाहरूलाई अनावश्यक स्पष्टीकरण दिने अब मसँग समय कहाँ छ र ?
मेरो कुरा काट्ने कुरौटेहरूका कुरा सुनेर म अब विचलित हुन्नँ
मेरो ढाडमा छुरा रोप्नेहरूलाई सहेर
तिनले बनाएका घाउमाथि पछ्यौरा ओढेर
तिनीहरूसँग मित्रताको ढोंग गरेर म मेरो बाँकी थोरै समय खेर फाल्न चाहन्नँ

म त अब त्यस्ता मित्रहरूसँग आफ्नो बाँकी समय बिताउन चाहन्छु
जो यथार्थको धरातलमा बाँचेका छन्
जो आफ्ना गलतीहरू नलुकाई तिनैलाई सम्झेर हाँस्न सक्छन्
जो कोट्याई कोट्याई ममा खोट खोज्ने प्रयास गर्दैनन्
जो आफ्नो विजयमा फुलेर गमक्क पर्दैनन्
जसले आफूले गरेका राम्रा नराम्रा सबै कामको जिम्मेवारी लिन्छन्
जो म जस्तो भए पनि माया गर्न सक्छन्
यसरी नै शायद मानवताको रक्षा हुन्छ होला
अनि हामी साँचो र इमानदार भएर बाँच्न सक्छौँ होला!!

म आफूलाई ती मानिसहरूका बीचमा पाउन चाहन्छु
जो मेरो हृदय पढ्न सक्छन्
र त्यसलाई जीवनका आघातको तापमा पग्लन दिँदैनन्
जसको स्पर्शले दुखेको आत्मा पनि मुस्कुराउँछ
म तिनैको साथमा हुन चाहन्छु

हो म हतारमा छु
मलाई छिटो छिटो ती सुन्दर पलहरू नसकिँदै तृप्त भएर जिउने  इच्छा छ
रमाउने रहर छ
मसँग धेरै समय छैन
मलाई मेरो बाँकी उमेर सिंगारेर जिउने रहर छ
अब म मेरो बाँकी जीवन बर्बाद गर्न चाहन्नँ
हेर न!
मसँग बट्टामा अब धेरै लड्डू बाँकी छैनन्
म हेरेक कणको स्वाद लिन चाहन्छु!!!

Mario de Andrade (San Paolo 1893-1945) को कविता MY SOUL HAS A HAT बाट प्रभावित  


Comments

Post a Comment