फेसबुक पुराण


facebook image के लिए इमेज परिणाम
आऔँ साथी सुनौँ आज फेसबुक पुराण लौ ।
अम्रिका देशमा जन्म्यो जुकरबर्ग पिता भयौ ।।

न्वारनको नाम दी फेस्बुक् दुइ वर्ष पुगेपछि ।
दौडियो हामफालेर कम्मरमा पटुका कसी ।।

सबैको प्रिय भो प्यारो सबैका घर बास भो ।
बूढा आमाबुवालाई छोराछोरी समान भो ।।

लमी पनि भयो कैले प्रेमी मन मिलाउने ।
कहिले मन्थरा जस्ती घरबार छुटाउने ।।

सूचना सबको राख्ने जन्मेदेखि मरेतक ।
लायो, खायो, गयो, आयो एक एक हिसाब छ ।।

सुत्केरो वा जुठो कैले उसैले सब जान्दछ ।
बिहावारी, दशैं चाड छेकबार लगाउँछ ।।

को राम्री को नराम्री हो, उसैले सब तोक्दछ ।
चियो-चर्चो गरौँ भन्दा पूजा-सामाँ सारा जुटाउँछ।।

ज्ञान विज्ञानको खानी जे खोजे पनि मिल्दछ ।
हाँसो र आँसुको वर्षा चित्त कैले दुखाउँछ ।।

कुन लुगाले सुहाएको कुनले रूप निखार्दछ ।
फोटो हाल्यो कि भन्दिन्छ मख्ख पार्न सिपालु छ ।।

बिहान बेलुका नित्य जो गर्छन् यसको जप ।
जुकर्बर्ग धनी पार्छन् शेयरको भाउ दोब्बर ।।

वरदान मिलीहाल्छ विलम्ब नगरीकन ।
फेसबुक मन्त्रको जाप गरौँ नित्य गुणीजन ।।
(अनुष्टुप छन्द)




photo: https://www.google.com/search?safe=strict&biw=1280&bih=721&tbm=isch&sa=1&ei=CsjOXLG2GYuua92UupAG&q=facebook+image&oq=facebook+image&gs_l=img.3..0i2l3j0i30l7.1411.3941..4636...0.0..0.94.530.6......1....1..gws-wiz-img.......35i39.ofh0eNiZ0Ow#imgrc=hbFHbIVUzP-KdM:




Comments