म खोज्छु आफू जब आँसु सुक्छ
म खोज्छु आफू जब धैर्य टुट्छ ।
अचम्म! भेटिन्नँ कतै म जो थिएँ
भएर नौलो हर बार जन्मिएँ ।।
शरीर संस्कार दिने बुवा मुमा
भरेर ऊर्जा जब छोड्नु भो यहाँ ।
चाली पखेटा म उडेँ कता कता
जता जता कर्म र भाग्यको पता ।।
देखेँ सुनेँ जे सब भित्र लेपियो
पढे गुनेँ जे सब मित्र भैदियो ।
भोगेर जे जे म बढेँ अघिल्तिर
निकालिएँ आरनबाट बाहिर ।।
यो हाड छाला बदलिन्छ दिन्दिन
सोसेर पानी अनि घामका दिन ।
आत्मा र संस्कार दुवै उसैगरी
नयाँ नयाँ जन्म लिने सधैँभरी ।।
(उपजाति)
Comments
Post a Comment